
काठमाडौं – बर्लिनको पर्खाल भत्केको ३० वर्ष बितिसक्दा पूर्वी युरोपेली मुलुकहरूका जनता लोकतन्त्रको भविष्यका विषयमा संत्रस्त छन्, सरकार र प्रमुख राजनीतिक दलप्रति सशंकित छन् र मिडियाप्रति अविश्वस्त छन् भनी एक नयाँ सर्वेक्षणले देखाएको छ ।
लोकतान्त्रिक प्रणाली तथा मिडियाप्रतिको अविश्वास डरलाग्दो तहमा पुगेको भनी सर्वेक्षण प्रतिवेदनका लेखकहरूले लेखेपनि राजनीतिलाई प्रभावित गर्न सकिने र समाजलाई सुधार्न सकिने बताएका छन् । विशेषगरी युवतीहरूले नागरिक गतिविधिमा भाग लिएर अनि सकारात्मक परिवर्तन हासिल गर्ने विषयमा आशावादी रहेर यस्तो सुधार ल्याउन सकिने उनीहरूको विश्वास छ ।
बुल्गेरिया, चेक गणतन्त्र, जर्मनी, हंगेरी, पोल्यान्ड, रोमानिया र स्लोभाकियामा १२ हजार ५०० मानिसमाझ यूगोभले गराएको सर्वेक्षणको परिणाम अर्बपति जर्ज सोरोसको ओपन सोसाइटिज फाउन्डेसन्सले प्रकाशित गरेको हो । लोकतन्त्र खतरामा रहेको विश्वास ५१ द्यृखि ६१ प्रतिशत व्यक्तिले राखेका छन् ।
बुल्गेरियामा तीनचौथाइ, हंगेरी र रोमानियामा आधाभन्दा बढी, पोल्यान्डमा एकतिहाइ र जर्मनीमा २० प्रतिशत जति व्यक्तिहरूले आफ्नो देशमा हुने गरेका निर्वाचन न स्वतन्त्र हुने न त स्वच्छ हुने बताएका छन् । अनि सर्वेक्षण गरिएका सबै सात मुलुकमा ४० वर्ष उमेरमाथिका एकचौथाइभन्दा अलिक कम मानिसले विश्व सन् १९८९ को तुलनामा सुरक्षित रहेको बताएका छन् ।
मूलधारका मिडिया र सरकारले प्रवाह गर्ने सूचनाको विश्वसनीयतामा विश्वास स्वाट्टै घटेको छ । सर्वेक्षण गरिएका सबै देशमा सहभागीहरूले मूलधारे मिडियालाई विश्वास गर्न नसकिने र सरकारले पनि सही र पूर्वाग्रहरहित सूचना नदिने गरेको बताएका छन् ।
अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन तथा विरोध प्रदर्शन गर्ने अधिकार खतरामा परेको धेरैजसो सहभागीको मत रह्यो । हंगेरी, बुल्गेरिया, रोमानिया, स्लोभाकिया र पोल्यान्डका अधिकांश सहभागीले सरकारको आलोचना गर्दा दुष्परिणाम भोग्नुपर्ने धारणा व्यक्त गरे भने सबै देशमा ६० प्रतिशत भन्दा बढी सहभागीले न्याय जोखिममा परेको बताए ।
तर विश्वासको यो चरम संकट विद्यमान रहेपनि मानिसहरूमा असहमतिको दह्रो भाव र शक्तिमा बस्नेहरूलाई चुनौती दिने इच्छा पनि रहेको प्रतिवेदकहरूको भनाइ छ ।
द गार्डियनबाट