
सुर्खेत –जागीर, अध्ययन, व्यापारका साथै मौसमी बसाइँ गर्नेहरुको अहिले दक्षिण झर्नेको चटारो बढेको छ ।
विभिन्न पेशा–व्यवसायमा कार्यरतलाई आफ्नो कार्य क्षेत्रमा बेलैमा पुग्नुपर्ने बाध्यता पनि त्यत्तिकै छ । मूलतः यतिबेला जाडो छल्ने कर्णाली प्रदेशका हिमाली जिल्लाका बासिन्दा भित्री मधेश तथा तराई भर्ने लहर चलेको छ ।
विशेषगरी जुम्लाबाट प्रस्थान गरेदेखि गन्तव्य सुर्खेत, बाँके, चितवन, कास्की, काठमाडौँलगायत पूर्वी क्षेत्रमा भएका यात्रुलाई यात्रा गर्न यति बेला निकै ठूलो सास्ती छ । निश्चित टिकट मूल्य दरभन्दा बढी पैसा तिर्दा पनि टिकट नपाउँदा धेरै यात्रुलाई सकस भएको छ ।
यात्रुलाई साना जीपदेखि ठूला बसको टिकट लिन शक्ति गुहार्नुपरेको छ । अन्य समयमा लिने भाडाभन्दा अहिले जुम्लाबाट तल यात्रु ओसार्ने गाडी सञ्चालकहरुले २०–२५ प्रतिशत बढाएर भाडा असुल्ने गरेको यात्रुले बताएका छन् ।
यद्यपि सोझासीभालाई टिकट पाउन युद्ध जित्नुजत्तिकै भएको छ । चन्दननाथ नगरपालिका–८ जुम्ला निवासी धनवीर नेपालीले सुर्खेतदेखि काठमाडौँ पुग्न कोचिएर जानेसमेत ठाउँ नभएको बताउनुभयो ।
जुम्ला चन्दनाथ नगरपालिकाकै बासिन्दा जगत् नेपालीले परिवारसहित यात्रामा हिँड्दा सँगै जाने टिकट नपाइएको दुःखेसो गरे। 'पैसा तिरेर पनि आफूले सोचेको टिकट र भनेको ठाउँमा जान नपाइने कस्तो विडम्बना हो ?' नेपालीले भने, 'चाडअघि र चाडपछि हाम्रो यात्रा कहिल्यै सुखद भएन । शान्ति र स्वतन्त्रताका साथ यात्रा गर्ने दिन कहिले आउलान् ?'
जाजरकोट निवासी लोकेन्द्र रावलले गाडीको सिट पाउने कुरा धेरै परको भएको बताए। त्यसमा भएको मुढा त के कोचिएर जानेसम्म ठाउँ पाउन गाह्रो भएको उनको भनाइ थियो । यसरी पटक पटक दुःख खेपिरहनुपर्ने नागरिकको अधिकार र सेवाका विषयमा तीनै सरकारको कुनै चासो नहुँदा एकातिर नागरिक ठगिने र अर्कोतिर बिचौलिया मोटिने काम भइरहेको उनले औँल्याए ।
यस्तो बेला ज्येष्ठ नागरिक, गर्भवती, अपाङ्गता भएका, व्यक्ति र बालबालिकालाई बढी सकस हुने हुँदा सरोकार पक्षको ध्यान जानुपर्ने नेपाल ल क्याम्पस काठमाडौँमा दोस्रो वर्षमा अध्ययनरत रमेशकुमार सिंहले सुझाव दिनुभयोे । सिंहले रासससँग कुरा गर्दै भने, 'जुम्लाबाट ठूलो सङ्घर्ष गरेर सुर्खेत झरियो । अब काठमाडौँको गाडी टिकट पाउन अझै चार दिन कुर्नुपर्ने भयो ।'
यात्रु कामना बोहोराले यस्ता यात्राले महिला बढी हिंसामा पर्ने गरेको दुःखेसो गरे। गाडी व्यवसायीले यात्रु खचाखच हुने गरी हाल्दा यात्रा जोखिमपूर्ण बन्ने खतरा बढेको उनको भनाइ थियो । क्षमताभन्दा बढी यात्रु बोक्दा शनिबार कर्णाली राजमार्गअन्तर्गत कालीकोटको दही खोलामा भे१ख २४०६ फोर्स गाडी दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक यक्षराज जोशीका अनुसार घटनामा घाइते वीरेन्द्रनगर सुर्खेत निवासी चालक प्रदीप कसेराको कालीकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै गाडी साहु वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतका राजेश विष्ट र तिलागुफा नगरपालिका कालीकोटका तुले बोहोराको सुर्खेतमा उपचार भइरहेको छ । दशैँतिहारपछि यात्रु सङ्ख्या ह्वात्तै बढ्नु नै यात्रुले गाडी टिकट सहजै पाउन नसक्नुको मुख्य कारण भएको हिल्सा यातायात प्रालि सुर्खेतका सचिव जीवन शर्माले राससलाई जानकारी दिए। शूरबहादुर सिंह,रासस
यात्रुको चाप बढे पनि तोकिएको रु एक हजार ७४२ भाडादरमा रु एक हजार ५०० सम्ममा पनि यात्रुलाई सेवा दिने गरिएको सचिव शर्माको भनाइ थियो ।