काठमाडौं – भारतको महाराष्ट्रस्थित सतारामा बस्ने धनजी जगदालेले इमान्दारिताको उदाहरण प्रस्तुत गरेका छन् ।
दीपावलीको दिन उनले बस स्ट्यान्डमा ४० हजार रुपैयाँ फेला पारेका थिए । उनले पैसाको मालिकलाई उक्त रकम फर्काए ।
रुपैयाँ फिर्ता पाएपछि खुशी भएका व्यक्तिले धनजीलाई पुरस्कारका रूपमा एक हजार भारु दिने प्रस्ताव गरेका थिए । तर धनजीले ७ भारु मात्र लिए । उनीसँग ३ भारु मात्र थियो र गाडीभाडा तिर्नका लागि उनलाई थप ७ रुपैयाँ चाहिएको थियो ।
धनजीले उक्त व्यक्ति पत्नीको सर्जरीका लागि उक्त पैसा जम्मा गरेको बताए । ती व्यक्तिको पैसा भेटेपछि आफू पैसा लिएर बस स्ट्यान्डमै बसिरहेको उनको भनाइ छ । ती व्यक्ति चिन्तित हुँदै पैसा खोज्न आएपछि आफूले पैसा दिएको उनले बताए ।
यो खबर स्थानीय पत्रिकामा प्रकाशित भएपछि अमेरिकामा बस्ने राहुल बर्गे धनजीको इमान्दारीबाट प्रभावित भए अनि ५ लाख भारु दिने भने । तर धनजीले त्यो पैसा पनि लिन मानेनन् ।
धनजी भन्छन्, ‘कसैको पैसा लिएर कहिल्यै सन्तुष्ट भइँदैन । मानिसहरू इमान्दार हुनुपर्छ भन्ने सन्देश फैलाउने मेरो उद्देश्य हो ।’
एजेन्सी