“ए केटा ! तेरो भुँडी चिर्न आइज । घाँस काट्न तन्किने होला नि” भन्नु भो मेरी सासूआमाले । जुनदिन मेरो सवारी ससुराली गाउँतिर भएको थियो ।
ती शब्दहरूले मलाई केही हदसम्म त्रसित पारे र अलिकति इच्छुक पनि । एउटा ‘भुँडी चिर्नु’ र अर्को ‘तन्कनु’ । ती दुई शब्दबारे जान्ने आशामा म एउटा पलङको कुनामा कुक्रुक्क परेर बसिरहें ।

केहीबेरपछि मेरो सालो केटो आयो करिब ११ वर्षको । र भन्यो-“ए आमा भात ल्याऊ त ।”
अनि भातसात खाएर बाहिर गयो । एकछिनपछि डोको बोक्दै ऊ गयो । सायद घाँस काट्न होला । सासू आमा चाहिँ एकनासले गाली गर्दै थिइन्-“यसबेला भइसक्यो, केही गर्दैनन्, खाली भुडी चिर्न मात्र जान्ने...।” यस्तै यस्तै ।
मलाई ती दुई शब्दको अर्थ स्पष्ट भइसकेको थियो । ‘भुँडि चिर्नु’ भनेको ‘खानु’ र ‘तन्कनु’ भनेको ‘जानु’ रहेछ । अरुलाई अरुको चिन्ता घरजाने ज्वाइँलाई खानको चिन्ता भन्ने उखान उखान सार्थक कहलाउँदै थियो । घडी हेरें, बिहानको आठ बज्नै लागेछ ।
दश बजे घर पुग्नुपर्ने थियो । पहिले त एकछिन सासूले बोलाएर खान देलिन् भन्ने आशामा अल्झेर बसें । केही छाँट नदेखेपछि मुखै फोरेर खाना मागें -“आमा ! मलाई पनि भुँडी चिर्न दिनु न है, आज चाँडै नै घर तन्कनु पर्या’छ ।” उनी लाजले भुतुक्क भइन् ।
-मुक्ति भण्डारी