२८ जेठ २०८३, बिहीबार

नेपालमा विरोध चर्किएपछि भारतले भन्यो– 'सीमा एकरत्ती पनि परिवर्तन गरेका छैनौं'

कात्तिक २१, २०७६
नेपालमा विरोध चर्किएपछि भारतले भन्यो– 'सीमा एकरत्ती पनि परिवर्तन गरेका छैनौं'

काठमाडौं– हालै सार्वजिक गरेको नयाँ नक्सा भारतीय सार्वभौम भू–भागको सही चित्रण भएको दाबी भारतले गरेको छ ।

भारतीय विदेश मन्त्रालयमा बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नको जवाफमा विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले नयाँ नक्सामा नेपालसँगको सिमानालाई एकरत्ती पनि परिवर्तन नगरिएको दाबी गरेका हुन् ।

‘हाम्रो नक्साले भारतको सार्वभौम भू–भागको सही चित्रण गरेको छ,’ रवीश कुमारले भनेका छन्, ‘नयाँ नक्साले नेपालसँगको हाम्रो सिमानालाई एकरत्ती पनि परिवर्तन गरेको छैन ।’

उनले नेपाल–भारत सीमा निर्धारणको अभ्यास जारी रहेको दाबी पनि गरेका छन् ।

‘विद्यमान संयन्त्रअन्तर्गत नेपालसँगको सीमा निर्धारण अभ्यास अहिले पनि जारी छ,’ उनले भनेका छन्, ‘हामीहरू सबै समस्याको समाधान संवादमार्फत नै गर्ने र द्विपक्षीय सम्बन्धको मर्मभित्र रहेर नै कुराकानी गर्ने प्रतिबद्धता दोहोर्‍याउँछौं ।’

साथै उनले दुई देशबीचको सम्बन्धमा फाटो ल्याउन खोज्ने तत्वसँग सचेत रहनुपर्ने पनि बताएका छन् । ‘सबभन्दा महत्त्वपूर्ण कुरा त निहित स्वार्थ समूह दुई देशको सम्बन्धमा फाटो ल्याउनका लागि सक्रिय रहेको कुरामा दुवै पक्षले ध्यान दिनुपर्छ,’ उनले भनेका छन् ।

भारतले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भू–भाग कालापानी र लिपुलेक परेपछि नेपालमा त्यसको चर्को विरोध भइरहेको छ ।

परराष्ट्र मन्त्रालयले पनि बुधवार विज्ञप्ति प्रकाशित गरी भारतीय नयाँ नक्साप्रति असन्तुष्टि जनाएको थियो ।

कालापानी नेपाली भू–भाग भएको दाबी गर्दै विज्ञप्तिमा समस्या समाधानका लागि कूटनीतिक पहल गरिने जनाइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्