०७ असार २०८३, आइतबार

कालापानीबारे भारतसँग उच्चस्तरीय वार्ता गर्ने सरकारको तयारी

कात्तिक २४, २०७६
कालापानीबारे भारतसँग उच्चस्तरीय वार्ता गर्ने सरकारको तयारी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठकबाट प्राप्त बलियो राष्ट्रिय सहमतिका आधारमा कालापानीको विषयमा भारत सरकारसँग उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक वार्ता गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले कालापानीको विषयमा सुझाव लिन सङ्घीय संसद्मा रहेका दलहरूका नेता, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, विषयविज्ञहरूको सर्वपक्षीय बैठक शनिबार डाकेका हुन्। बैठकमा सहभागी अधिकांश नेताहरूले उच्चस्तरको राजनीतिक तथा कूटनीतिक पहलबाट कालापानी समस्याको निकास खोजिनुपर्ने सुझाव राखेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए।

बैठकमा सबैको सुझाव प्राप्त गरेपछि प्रधानमन्त्री ओलीले राखेको धारणा उद्धृत गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, 'राष्ट्रिय हितका निम्ति बलियो राष्ट्रिय सहमति आवश्यक हुन्छ, जुन अहिले प्राप्त भएको छ । त्यो सहमतिलाई आधार बनाएर प्रभावकारी ढङ्गले वार्ता गर्नसक्ने सरकार पनि छ । यो राष्ट्रिय एकतालाई आधार बनाएर भारतसँग वार्ता अगाडि बढाउँछौँ ।'

परराष्ट्रमन्त्री ज्ञवालीले बैठकले राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको मामलामा अभूतपूर्व राष्ट्रिय सहमति प्रकट गरेको बताए। उनले भने, 'सबैको एउटै स्वर छ । कालापानी क्षेत्रभित्रका कालापानी, लिपुलेक र लिम्पियाधुरा निर्विवाद ढङ्गले नेपालको भूभाग हो । महाकालीको उद्गम लिम्पियाधुराबाट बग्ने कुटियाङ्दी नदी हो । नेपालको सिमाना त्यहाँसम्म विस्तार भएको छ ।'

'यो राष्ट्रिय सहमति र राष्ट्रिय एकतालाई आधार बनाएर नेपाल सरकारले भारत सरकारसँग प्रभावकारी कूटनीतिक माध्यमबाट वार्ता अगाडि बढाउने छ,' उनले भने। गोरखापत्रमा खबर छ ।

कमेन्ट गर्नुहोस्