काठमाडौं – भारतको हैदराबादमा एक सफ्टवेयर इन्जिनीयरले विवाह हुनुभन्दा ठीक आधा घण्टाअघि आत्महत्या गरेका छन् ।
एन एस सन्दीप नामक ती इन्जिनीयरले मेदचल जिल्लाको कोम्पाल्लीमा आत्महत्या गरेका हुन् । त्यतिखेर उनको परिवार र दुलही विवाह मण्डपमा उनको प्रतीक्षा गरिरहेका थिए ।
प्रहरीका अनुसार, दुलाहा सन्दीप मेकअप कोठामा गए । उनी त्यहाँ एक्लै थिए । उनी निकै बेरसम्म पनि नआएपछि उनका आफन्तले ढोकामा लगातार हिर्काए । कुनै प्रतिक्रिया नआएपछि उनीहरूले ढोका फोरे । भित्र सन्दीपले
सीलिङ फ्यानमा झुण्डेर आत्महत्या गरेको देखियो । यो देखेपछि पाहुनाहरू स्तब्ध भए र खुशीको समारोह पीडामा परिणत भयो ।
सन्दीप हैदराबादको दिलसुखनगर क्षेत्रमा बस्थे । उनले बिहान ११ः३५ को मुहूर्तमा विवाह बन्धनमा बाँधिने कार्यक्रम थियो । उनले किन यस्तो जघन्य कदम चाले भन्ने कारण थाहा हुन सकेको छैन ।
प्रहरीले सन्दीपको आत्महत्याको कारण पत्ता लगाउनका लागि अनुसन्धान जारी रहेको बताएको छ ।
एजेन्सी