
काठमाडौं – हङकङमा सोमवार पनि विरोध प्रदर्शन जारी रहेको छ । प्रहरीले बिहानीपख एक विरोधकर्तामाथि गोली प्रहार गरेपछि सडकमा अव्यवस्था छ ।
विरोधकर्ताहरूले बिहान ७ बजेदेखि नै आवतजावत ठप्प पारेका छन् र प्रहरीसँग ठाउँठाउँमा भिडन्त गरेका छन् । पूर्वी भागमा रहेको साइ वान होमा एक ट्राफिक अधिकारीले २१ वर्षीय विरोधकर्ताको कम्मरमा गोली प्रहार गरेका छन् ।
ती विरोधकर्ता गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएका छन् ।
गोलीप्रहारको घटनापछि सार्वजनिक आक्रोश फैलिएको छ । आज दिनभरि प्रदर्शन गर्ने कार्यक्रम छ र यस घटनापछि प्रदर्शनहरू चर्किने सम्भावना छ ।
हङकङको केन्द्रीय वित्तीय क्षेत्रका कर्मचारीहरूलाई घर पठाइएको छ । दंगा प्रहरीले विरोधकर्ताहरूलाई तितरबितर पार्न अश्रूग्यास प्रहार गरेको छ । विशाल भीडले ‘हत्या’ भन्दै फेशन पसलहरूका अगाडि जुलूस निकालेका छन् ।
विरोधकर्ताहरूले विभिन्न स्थानमा ब्यारिकेड बनाउने र आवतजावत रोक्ने काम गरिरहेका छन् । कोलूनलाई हङकङसँग जोड्ने महत्त्वपूर्ण सुरुङलाई पनि उनीहरूले ठप्प पारेका छन् ।
प्रहरीले एक वक्तव्य जारी गरेर ब्यारिकेड हटाउन र विरोधकर्ताहरूलाई तितरबितर पार्न प्रयास जारी राखेको जनाएको छ ।
सोमवार कम्तीमा पाँचवटा विश्वविद्यालय बन्द गरेर कक्षाहरू रद्द गरिएका छन् ।
सीएनएनबाट