
काठमाडौं – भारतले कालापानी क्षेत्रमा सुरक्षा बढाइरहे पनि नेपालतर्फको सुरक्षा उपस्थिति भने शून्य छ। नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर भारतले हालै जारी गरेको नयाँ नक्साअनुसार नेपाल-भारत सीमा वारिपारि कौवा र गुञ्जी क्षेत्र पर्छ । नेपालतर्फको ठाउँ कौवा हो भने भारततर्फको गुञ्जी। कौवाबाट कालापानी नौ किलोमिटर उत्तरमा पर्छ । यी दुई विन्दुबीच भारतका आधा दर्जन सुरक्षा अंग छन्।
नेपालतर्फ भने कौवाबाट १० किलोमिटर वर गागामा सीतापुल चौकी छ । चीनसितको रणनीतिक क्षेत्रसमेत भएकाले भारतले भने ती ठाउँमा सुरक्षा निकायहरूको उपस्थिति बढाउँदै लगेको छ ।
त्यस क्षेत्रमा भारतीय सेना, सीमा सुरक्षा बल, भारतीय बोर्डर पुलिसलगायत सुरक्षा निकायका करिब १० हजार जनशक्ति तैनाथ रहेको स्थानीय बताउँछन्। कालापानी क्षेत्रमा आफ्ना सैनिक राखेदेखि नै भारतीय पक्षले नेपालीलाई आवतजावतमा अवरोध गर्दै आएको छ । यो नाकाबाट भारत-चीन व्यापार सुरु भएदेखि नेपालीलाई असहज भएको हो ।
पञ्चायतकालमा सदरमुकाम खलंगाबाट तिंकर नाकासम्म झन्डै एक सय २५ किलोमिटर घोरेटो बाटो बनेको थियो । यो बाटो बनेपछि व्यास क्षेत्र जान सहज भएकाले नेपाली र भारतीय नागरिक नेपालकै घोरेटो बाटो हुँदै व्यास क्षेत्रमा बर्सेनि कुञ्चा (बसाइँसराइ) गर्थे ।
सशस्त्र द्वन्द्वकालमा नेपाली सुरक्षाकर्मी व्यास क्षेत्रमा जान सकेनन् । द्वन्द्व सकिएपछि घोरेटो बाटो बिग्रिएको भन्दै राज्यले उक्त क्षेत्रमा आफ्नो उपस्थिति नदेखाएको स्थानीय बिरु तिङ्करीले बताए। उनले भने, ‘नेपाल प्रहरीका दुई युनिट व्यास क्षेत्रमा भए तापनि त्यहाँ ६ महिना मात्र प्रहरीको उपस्थिति हुने गरेको छ। हिमाली ठाउँमा जाडोले बस्न नसकेर नेपाल प्रहरीका दुवै अस्थायी पोस्ट जिल्ला सदरमुकाम झर्छन्।’
स्थानीयका अनुसार प्रहरीको उपस्थिति ६ महिना भए पनि प्रहरी चौकी-गाउँ आउजाउमै सीमित छ । स्थानीयले केही सूचना दिए त्यसलाई माथिल्लो निकायमा खबर गर्छन् । केन्द्रसम्म स्थलगत र अद्यावधिक रिपोर्ट विरलै मात्र पुग्ने गरेको सोबान तिङ्करीले बताए। नेपालका सुरक्षाकर्मी तथा राज्यका अन्य प्रतिनिधिको उपस्थिति नहुँदा व्यास क्षेत्रमा पछिल्लो समय भारतीय पक्षले धमाधम सडक र पुल बनाइरहेका छन् ।
‘नेपाली पक्षले भारतलाई सुरक्षा योजनाबिनै अन्तर्राष्ट्रिय नदीमा काठेपुल राख्न दिएदेखि सीमा अतिक्रमण हुन थालेको हो,’ एक स्थानीयले भने, ‘समयमै यस विषयमा सरकारले चासो दिएको भए अतिक्रमण यो हदसम्म हुने थिएन ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।