
मुसिकोट – रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले सोमवारदेखि नगरबस सञ्चालनमा ल्याएको छ ।
नगरपालिकाभित्रका नागरिकलाई सहुलियत यातायातको व्यवस्था दिने योजनासहित नगरबस सञ्चालनमा ल्याइएको हो ।
नगर क्षेत्रका सबै भू–भागमा बस सञ्चालन हुने गरी ३ नगरबस सञ्चालन गरिएका नगर प्रमुख विशाल शर्माले बताए । उनका अनुसार सहुलियत भाडादर कायम गरी नगरपालिकाले २६ र ३२ सिट क्षमताका ३ नगरबस सञ्चालनमा ल्याएको छ ।
बसका लागि विभिन्न रुटको भाडादर निर्धारण गरिएको र टिकटसमेत अनिवार्य गरिएको नगर प्रमुख शर्माको भनाइ छ ।
नगरपालिकाले नगर बसमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र विद्यार्थीलाई भने छुटको व्यवस्था गरेको छ । ५ वर्षमुनिका बालबालिका तथा ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क यात्राको व्यवस्था गरेको नगरपालिकाले जनाएको छ ।
नगरबस सञ्चालन भएसँंगै अबदेखि चौरजहारी बजार उपत्यकाका कुनै पनि स्थानमा यात्रा गर्न प्रतिव्यक्ति २० रुपैयाँ लाग्ने भएको छ ।
चौरजहारी बसपार्कदेखि वडा नम्बर १४ को नुवाकोटसम्मको भाडादर २०० रुपैयाँ तथा बसपार्कदेखि चौफाका लागि १०० रुपैयाँ भाडा निर्धारण गरिएको नगरपालिकाले जनाएको छ ।
नगरबस सञ्चालनमा आएसँगै कर्णाली प्रदेशमै चौरजहारीले पहिलोपटक आफ्नै नगरबस सञ्चालन गरेको बताइएको छ ।