काठमाडौं – भारतीय जनता पार्टीसँग सम्बन्ध तोडे पनि शिवसेनाले महाराष्ट्रमा सरकार बनाउन सकेको छैन ।
सोमवार शिवसेनाले यसका लागि पूर्ण प्रयास गर्दै मोदी क्याबिनेटबाट मन्त्री अरविन्द सावन्तलाई राजीनामा समेत दिन लगाएको थियो । तर विभिन्न चरणमा बैठक गरे पनि कांग्रेस र एनसीपीले शिवसेनालाई समर्थन दिने अन्तिम निर्णय गरेनन् ।
राज्यपालले राति एनसीपीलाई नै सरकार बनाउन निमन्त्रण गरे । घन्टौंसम्म चलेको राजनीतिक नाटकको कुनै परिणाम आएन ।
आइतवार भाजपाले राज्यपाललाई आफू सरकार बनाउन सक्षम नरहेको घोषणा गरेपछि राजनीतिक नाटक मञ्चन हुन थालेको हो । भाजपा पछि हटेपछि राज्यपाल भगत सिंह कोशियारीले शिवसेनालाई सरकार बनाउन भने । त्यसपछि
शिवसेनाले कांग्रेस र एनसीपीलाई सरकार बनाउनका लागि सहयोग गर्न भन्यो ।
सोमवार दिल्लीमा कांग्रेस वर्किङ कमिटी बैठक बस्यो र सोनिया गान्धी पनि त्यसमा सहभागी भइन् । एनसीपीको कोर कमिटी बैठक भयो र उसले कांग्रेसको फैसलाको प्रतीक्षा गर्ने बताए ।
शिवसेनाका सबै विधायकहरूले समर्थन पत्रमा हस्ताक्षर गरे ।
बान्द्रामा एनसीपी प्रमुख शरद पवार र शिवसेना प्रमुख उद्धव ठाकरेबीच बैठक भयो ।
दिउँसो चार बजे कांग्रेसको बैठक फेरि बस्यो । यस बैठकमा महाराष्ट्र कांग्रेस नेता पनि सहभागी भए । तर शिवसेनाको समर्थनमा कुनै फैसला गरेन ।
राज्यपाल भगत सिंह कोशियारीले सरकार बनाउने इच्छा शिवसेनाले देखाएको र समर्थन पत्र नबुझाएको बताए ।
राति पौने ९ बजे राज्यपालले एनसीपीलाई सरकार बनाउन निमन्त्रण दिए ।
शरद पवारसँग बैठकपछि एनसीपी नेता अजित पवार राजभवन पुगे र सरकार बनाउने दाबी प्रस्तुत गर्न २४ घन्टाको समय मागे ।
कसको सरकार बन्ने हो भन्ने विषयमा कुनै निष्कर्ष निस्केको छैन ।
एजेन्सी