
विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले सुशासनलाई उच्च प्राथमिकतामा राखिएको बताएका छन् ।
काठमाडौंस्थित अमेरिकी सेन्टर, नेपाल उद्योग वाणिज्य महासङ्घ र उद्योग सङ्गठन मोरङशाखद्वारा संयुक्तरूपमा आयोजित ‘स्थानीय सरकारका पदाधिकारीका लागि सुशासन’सम्बन्धी तीनदिने तालिम मंगलवार शुभारम्भ गर्दै उनले जनताका सेवा प्रदायक निकायले विकास र पूर्वाधार निर्माणमा सुशासन कायम राख्न शून्य शहनशीलता अपनाएको धारणा व्यक्त गरे ।
मुख्यमन्त्री राईले विकासमा पारदर्शिता नै सुशासनको पहिलो प्राथमिकता भएकाले नागरिकको यसमा प्रत्यक्ष सहभागिता र खबरदारीबाटै प्रतिफल प्राप्त हुनाका साथै पनि सुशासन कायम गर्न सकिने विश्वास व्यक्त गरे ।
उनले प्रदेश सरकारले विकास, नीति निर्माण तथा बजेट बाँडफाँटमा जनतालाई जोडेर कार्य गरिरहेको जानकारी दिँदै गरीबी निवारण, रोजगारी र सामाजिक क्षेत्रमा गरिने कार्यबाटै जनताले सुशासनको अनुभूति गर्ने बताए ।
मुख्यमन्त्री राईले स्थानीय सरकारबाट प्रदान गरिने सेवा छिटो, छरितो, सहज र सरल ढङ्गबाट नागरिकमा प्रदान गर्नु पर्नेमा जोड दिँदै जनता बलियो भए मुलुकमा सुशासन कायम भई ‘समृद्ध नेपाल सुखी नेपाल’ अभियान पूरा गर्न सकिने बताए ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले सुशासनबाटै मुलुक र जनता समृद्ध हुने भएकाले निर्माण कार्यमा नागरिकको अनुगमन एवं निगरानी आवश्यक हुनेमा जोड दिए । अमेरिकी सेन्टरका प्रमुख सुलभराज भट्टले स्थानीय निकायले गर्ने कार्यमा सुशासन कायम राखी जनतालाई छिटो र छरितो सेवा प्रदान गर्न तालीम उपयोगी हुने विश्वास व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधान, उद्योग सङ्गठन मोरङशाखा अध्यक्ष भीम घिमिरे र तारा निरौलाले स्थानीय निकायका पदाधिकारीलाई कार्य सम्पादनमा सहज बताउनका लागि सो तालिम आयोजना गरिएको बताए ।
प्रदेश नं १ र २ का महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका उपप्रमुखको सहभागिता रहेको उक्त तालीम यसअघि अन्य चार प्रदेशमा सञ्चालन भैसकेको जनाइएको थियो ।