१५ असार २०८३, सोमबार

कार्यकर्तालाई शपथ खुवाउँदै प्रचण्डले भने– महाकाली नदी नै नेपाल–भारत सीमा

कात्तिक २६, २०७६
कार्यकर्तालाई शपथ खुवाउँदै प्रचण्डले भने– महाकाली नदी नै नेपाल–भारत सीमा
फाइल फोटो

चितवन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताका विषयमा देश एक ढिक्का भएको बताएका छन् ।

नेकपा भरतपुर महानगर वडा कमिटीको मंगलवार भरतपुरमा आयोजित शपथ ग्रहण कार्यक्रममा अध्यक्ष दाहालले सीमाका विषयमा प्रधानमन्त्रीले बोलाएको बैठकमा सबैको एकमत भएको जानकारी दिए ।

अध्यक्ष प्रचण्डले भने, “जहाँसम्म सीमाको विषय रहेको छ यसमा पहिलोपटक राष्ट्रिय एकता र सहमति भएको छ । यो गर्वको कुरा हो ।”

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा सम्पूर्ण राष्ट्र एक ढिक्का छ भन्ने कुरा देखिएको उनले बताए । 

सन् १८१६ को सुगौली सन्धि, त्यसपछिका चिठीपत्र र सुगौली सन्धिपछि छापिएका औपचारिक र वैधानिक नक्शाले लिम्पियाधुरालाई नै महाकाली नदीको मुहान मानेकाले सोहीअनुरुप अघि बढ्नुपर्ने उनले बताए ।

अध्यक्ष दाहालले भने, “सुगौली सन्धिले महाकाली नदी नै सीमा भनेको छ”, सोही ऐतिहासिक तर्क, तथ्य र दस्तावेजले नेपालको भूमि कति, भारतको कति हो भन्ने कुरा प्रमाणित गरेको छ ।”

उनले सीमा विवादको विषय राष्ट्र र पार्टीका लागि निकै चुनौती बनेर आएको भन्दै शक्तिशाली सरकारले चुनौतीलाई पार गर्दै अघि बढ्छ, भने ।

अर्को एक प्रसङ्गमा उनले नेकपालाई कमजोर बनाउन प्रतिक्रियावादी र विदेशी शक्ति लागेको भन्दै कमजोर हुन नदिइने बताए । दाहालले भोलि बस्ने पार्टीको बैठकले एकताका बाँकी काम पूरा गर्ने जानकारी दिए ।

यसअघि पराजय भोगेको स्थानामा पनि अब हुने उपनिर्वाचनमा पार्टीका सबै उम्मेदवारले जीत हासिल गर्ने विश्वास उनले व्यक्त गरे । उनले भने, “पहिले नजितेको ठाउँमा अहिले जित्ने सम्भावना छ, त्यसका लागि हामी एकताबद्ध भएर रात दिन खट्न पर्‍यो ।”

कार्यक्रममा प्रदेश नम्बर ३ का सहइञ्चार्ज काशीनाथ अधिकारी, प्रदेश अध्यक्ष नारायण दाहाल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा पार्टीका सबै वडा कमिटीका पदाधिकारी र सदस्यलाई अध्यक्ष दाहालले शपथ गराएका थिए । सो अवसरमा एक हजार ३०० सदस्यले शपथ लिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्