
बाँके – बाँके र बर्दियामा वन्यजन्तुको आक्रमणमा मृत्यु हुने क्रम बढेपछि निकुञ्ज वरपरका स्थानीय त्रसित छन् ।
बाघ आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीय त्रसित बनेका हुन् । मानव बस्तीमै पुगेर बाघले आक्रमण गरेको घटना बढ्न थालेपछि निकुञ्ज क्षेत्रका वासिन्दाको सुरक्षा जोखिम बढ्न थालेको छ ।
कात्तिक २३ र २६ गते जंगलमा घाँस दाउरा काट्न गएका २ महिलाले बाघको आक्रमणबाट ज्यान गुमाएका छन् । विक्रम संवत् २०७५ माघदेखि हालसम्म पाटेबाघको आक्रमणमा परेर बाँके र बर्दियामा ७ जनाको मृत्यु भइसकेको छ । निकुञ्ज तथ्यांक अनुसार बाघको आक्रमणमा परेर बर्दियामा ४ र बाँकेमा ३ जनाको ज्यान गइसकेको छ ।
कात्तिक २३ गते शनिवार जंगलमा घाँस काट्न जाँदा कोहलपुर नगरपालिका–१३ नयाँबस्तीकी ६५ वर्षीया काली बस्नेत र मंगलबार राप्तीसोनारी–८ बालापुरकी ६० वर्षीया ठगी खड्काको पाटेबाघको आक्रमणमा परेर मृत्यु भएको छ । वन्यजन्तुको बासस्थान क्षेत्रमाथिको अतिक्रमण, वन्यजन्तुको आहारामा कमी तथा मानिसमा जाग्ने बदलाको भावनाका कारण मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ ।
पछिल्लो समय मध्यवर्ती क्षेत्र र संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको बासस्थानमा भएको क्षयीकरण एवं संकुचनले गर्दा वन्यजन्तु आफ्नो बासस्थान छाडी गाउँ बस्तीमा पस्ने गरेको देखिएको छ । यसबाट वन्यजन्तुका अतिरिक्त संरक्षित क्षेत्र वरपर बसोबास गर्ने समुदायको घर, खेत र कृषि बाली नोक्सानी हुनुका साथै मानवीय क्षतिमा समेत वृद्धि हुँदै गएको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी विष्णु थपलियाले बताए ।
बाँके राष्ट्रिय निकुञ्जमा रहेका वन्यजन्तुका कारण आर्थिक वर्ष २०७५/७६ मा ४१८ घरधुरीमा क्षति पुगेको तथ्यांक छ । उनीहरूलाई क्षतिपूर्तिबापत निकुञ्जले ६० लाख ९३ हजार ४२ रुपैयाँ उपलब्ध गराएको छ ।
आर्थिक वर्ष २०७४/७५ मा बाँके निकुञ्जको वन्यजन्तुले ३०५ घरधुरीमा क्षति पुर्याएका थिए । उक्त आवमा वन्यजन्तुपीडितलाई १४ लाख २८ हजार ७२ रुपैयाँ रकम वितरण गरिएको निकुञ्जले जनाएको छ ।
बाँके राष्ट्रिय निकुञ्जमा आव २०७५/७६ मा भएको सडक दुर्घटनामा ४५ वन्यजन्तु मारिएका छन् । निकुञ्जमा आव २०७४/७५ मा ७२ वन्यजन्तुको मृत्यु भएको थियो भने आव २०७३/७४ मा ८३ वन्जन्तुको सडक दुर्घटनाबाट मृत्यु भएको थियो । आव २०७५/७६ मा राष्ट्रिय निकुञ्जले ४३१ वन्यजन्तुको उद्धार गरेको छ । आव २०७४/७५ मा ११ वन्यजन्तुको उद्धार गरेको निकुञ्जले जनाएको छ ।
मानव बस्तीमै पुगेर बाघले आक्रमण गर्न थालेपछि मानव वन्यजन्तु द्वन्द्वको खतरा बढेको पर्यटन व्यवसायी कृष्ण चौधरीको भनाइ छ । सरकारी तथ्यांक अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ र बाँके राष्ट्रिय निकुञ्ज २१ पाटेबाघ छन् ।
देशमै बाघको संरक्षणमा लागेको सरकार र स्थानीयको सक्रियताले बाघको संख्या बढेपनि आहाराको कमीले मानव बस्तीमा पुगेर वन्यजन्तुको आक्रमण र मानव–वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरण गर्न सरोकारवालाहरू गम्भीर भएर लाग्नुपर्ने स्थानीयको भनाइ छ ।