
काठमाडौं – संसारको सबभन्दा महंगो घडी पाटेक फिलिप साढे तीन अर्ब रुपैयाँमा स्विट्जरल्यान्डमा बिकेको छ । क्रिस्टिज च्यारिटी अक्सनमा (लिलाम बढाबढ) मा घडी त्यति ठूलो रकममा बिकेको हो ।
पाटेक फिलिप ग्रान्डमास्टर चाइम संसारको सबभन्दा जटिल घडीमध्ये एक हो । जेनेभामा शनिवार फोर सीजन्स देस बेर्ग्युुसमा भएको लिलाम बढाबढमा एकजना व्यक्तिले टेलिफोनमा सबभन्दा ठूलो बोली लगाएर घडी किनेका हुन् ।
घडी तीस करोड जतिमा बिक्ने अपेक्षा गरिएको थियो तर यति ठूलो रकममा बिक्यो । यसअघि सबभन्दा महंगो घडी रोलेक्स डेटोना सन् २०१७ मा लगभग दुई अर्ब रुपैयाँमा बिकेको थियो ।

घडीमा उताउता घुमाउन मिल्ने बिर्को छ र त्यसलाई घुमाएर दुईवटा डायल देखाउन मिल्छ । एउटा डायल सुनौलो छ भने अर्को निख्खर कालो छ ।
क्रिस्टिको घडी विभागकी प्रमुख सबिन केगेलले बताइन्, ‘यो घडीले कफी बनाउनेबाहेक अरू सबै काम गर्न सक्छ ।’
घडी बिक्रीबाट उठेको सबै रकम परोपकारमा खर्च गरिनेछ ।
एजेन्सी