
काठमाडौं – समाजवादी पार्टी नेपालको प्रथम संघीय परिषद् बैठक बिहीवार काठमाडौंमा शुरू हुँदैछ ।
प्रज्ञा प्रतिष्ठानमा शुरू हुने परिषद् बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ‘समाजवादी पार्टी निर्माण र आगामी कार्यभार’ विषयक राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।
परिषद् बैठक सकिएपछि शुक्रवार र शनिवार केन्द्रीय समितिको बैठक रहेको पार्टीका प्रचार विभागका सहसंयोजक विश्वदीप पाण्डेले जानकारी दिए । परिषद् बैठकमा सरकारबाट बाहिरिनेबारे समेत छलफल हुने अर्का एक नेताले जानकारी दिए । राजपासँगको एकताबारे बैठकमा छलफल हुनेछ ।
सरकारमा सहभागी हुने समयमा गरिएका सम्झौता कार्यान्वयन नभएको भन्दै सरकारबाट बाहिरिन समाजवादी पार्टीमा नेतृत्वलाई दबाब परेको छ ।
उपप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनमा सरकार सहमत नभए सरकार छाड्ने अभिव्यक्ति दिँदै आइरहेका छन् ।