
ललितपुर– निर्माण थालेको वर्षौंसम्म पनि सडक कालोपत्रे नगरेको भन्दै स्थानीयवासी प्रदर्शनमा उत्रिएपछि ललितपुरको भैंसेपाटी क्षेत्रको सडक कालोपत्रे गरिएको छ ।
सडक विस्तारका नाममा संरचना भत्काएर समयमै काम पूरा नगरेको भन्दै ललितपुर महानगरका स्थानीयवासीले बुधवार भैंसेपाटी–खोकाना सडक खण्ड बन्द गरेर प्रदर्शन गरेका थिए ।

प्रहरीको रोहबरमा ठेकेदारले कात्तिक मसान्तसम्ममा कालोपत्रे गरिसक्ने प्रतिबद्धता जनाएपछि स्थानीले सडक अवरोध खुलाएका थिए ।

भैंसेपाटीदेखि खोकना, बुंगमति हुँदै छम्पी जाने सडक कालोपत्रे गर्ने काम बुधवार रातिदेखि धमाधम भइरहेको छ ।
यसअघि ललितपुरको सुनाकोठी तथा चापागाउँ क्षेत्रका स्थानीयले आन्दोलन गरेपछि सो सडक पनि कालोपत्रे गर्ने काम अगाडि बढेको थियो ।

सडक विस्तारको जिम्मा पाएको ठेकेदारले समयमा काम नगर्दा काठमाडौं उपत्यकामा विभिन्न सडक अलपत्र बनेका छन् । समयमा कालोपत्रे नहुँदा धुलोले सर्वसाधारण आजित छन् ।