
बोलिभियाका एक प्रहरी अधिकारीले विरोधकर्ताहरूसँग हिंस्रक झडप हुँदा आफूमाथि गोली प्रहार गरिएको र गोजीमा भएको सानो बाइबलले जीवन बचाएको बताएका छन् ।
यो चमत्कारी घटना बिहीवार यापाकानी शहरमा भएको र आफूमाथि ९ एमएमको गोली प्रहार भएको बताए ।
स्पेसल फोर्स अफ द फाइट अगेन्स्ट क्राइम अफ सान्ता क्रुजका प्रमुख अस्कर गुटीरेजले उक्त गोली प्रहरीबाट चोरिएको बन्दूकबाट आएको बताए ।

बिहीवार राति पूर्व राष्ट्रपति इभो मोरालेसका समर्थक र प्रहरीबीच राजधानी ला पाजमा हिंसा भड्किएको थियो । प्रहरीले अश्रूग्यास प्रहार गरेको छ भने विरोधकर्ताहरूले त्यसलाई प्रहरीतिरै फर्काएका छन् ।
अन्तरिम राष्ट्रपति जीनाइन आनेज र नयाँ मन्त्रिपरिषद्ले पदको शपथ लिएको केही घन्टापछि भिडन्त भएको हो ।
राजधानीभन्दा ४५० माइल पर यापाकानीमा प्रहरीले शान्ति व्यवस्था राख्न आफूले प्रयास गरेको बताएको छ ।
प्रहरी अधिकारीहरूले प्रदर्शनकारीद्वारा ओगटिएको सडक खुलाउन काम गरिरहेका थिए । मोरालेसका समर्थकहरूले प्रदर्शन गरेका हुन् ।
प्रहरी अधिकारीको देब्रे भागमा गोली लागेको र गोजीको बाइबलले उनको ज्यान जोगाएको बताइएको छ । अधिकारीको नाम खुलाइएको छैन र उनले स्थानीय सञ्चारमाध्यमलाई यो चमत्कार भएको बताए ।
एजेन्सी