०५ असार २०८३, शुक्रबार

भक्तपुर–नगरकोट सडक : काम सक्नभन्दा समय थप्न हतार

कात्तिक ३०, २०७६
भक्तपुर–नगरकोट सडक : काम सक्नभन्दा समय थप्न हतार
फाइल तस्वीर

पर्यटकीय महत्वको क्षेत्र नगरकोट पुग्ने भक्तपुर–नगरकोट सडकखण्ड निर्माणमा ताकेता गर्नुभन्दा राज्यका निकायहरू ठेकेदारलाई समय थप्न बढी लालायित भएको पाइएको छ । उपत्यकाको सुगम स्थानमा निर्माण थालिएको यो सडक निर्माण गर्ने ठेकेदारलाई चौथोपटक समय थप गरिएको छ ।

राजधानीबाट नजिकैको प्रमुख पर्यटकीय गन्तव्य यो सडकको अवस्था भने झनै नाजुक छ । हिउँदमा धुलो र वर्षामा हिलोले पर्यटकले वर्षौंदेखि सास्ती भोग्दै आएका छन् । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको निर्माण कम्पनीले पाँच वर्ष पूरा हुँदा पनि काम सम्पन्न गर्न सकेको छैन । फेरि त्यस सडकको निर्माणका लागि २०७७ वैशाख ७ गतेसम्म अवधि थप भएको छ ।

भक्तपुर–नगरकोट–सिपाघाट–बल्खु–दक्षिणकाली सडक योजनाका प्रमुख जगत प्रजापतिले भने, 'समयमा सडक सम्पन्न नभएपछि आगामी वैशाख ७ गतेसम्मको म्याद थपिएको छ ।' गोरखापत्र दैनिकमा गएको साउन १८ गते छापिएको समाचारमा आगामी मङ्सिर १५ भित्र निर्माण सम्पन्न गर्ने दाबी प्रमुख प्रजापतिले नै गरेका थिए। उनले त्यतिबेला गौरवका साथ भनेका थिए, 'यस वर्षको नोभेम्बरसम्म जसरी पनि यो सडकको निर्माणकार्य सम्पन्न भइसक्नुपर्छ, सन् २०२० छुन दिइने छैन ।'

सरकारले २०२० वर्षलाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको सन्दर्भमा पर्यटन वर्षलाई सफल बनाउन प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको नगरकोट पुग्ने सो सडकको निर्माणमा अब ढिलाइ हुन नसक्ने भनाइ उहाँको थियो तर पनि पर्यटन वर्षलाई नै प्रतिकूल प्रभाव पार्ने गरी सडक निर्माणमा ढिलाइ हुँदै गएको छ ।

तर आयोजना प्रमुख प्रजापतिको प्रतिबद्धता सार्थक हुनसकेन । काम सुरु भएदेखि हालसम्म १५ किलोमिटर सडकमध्ये साढे तीन किलोमिटर मात्रै कालोपत्रे भएको छ । काम सक्नेभन्दा लागत बढाउने र समय थप्ने काम मात्रै भएको स्पष्ट देखिएको छ । सडक निर्माणको काममा ढिलाइ भएपछि स्थानीयवासीले ठेकेदारको तस्बिर नै सार्वजनिक गरेर ढिलाइको विरोध गर्न थालेका छन् । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्