०७ असार २०८३, आइतबार

विश्वकप छनोट खेल्न क्लोज क्याम्पमा राखिएका खेलाडी नाइट क्लबमा

मंसिर १, २०७६
विश्वकप छनोट खेल्न  क्लोज क्याम्पमा राखिएका खेलाडी नाइट क्लबमा

विश्वकप छनोट खेल्न शनिबार भुटान उड्नुपर्ने खेलाडी सामान लिन घर जाने बहानामा शुक्रबार रातभर ठमेलमा बरालिएपछि निलम्बनमा परेका छन् ।

विश्वकप छनोट टिमका स्ट्राइकर विमल घर्तीमगर, मिडफिल्डरद्वय अञ्जन विष्ट र सन्तोष तामाङ तथा डिफेन्डर दिनेश राजवंशीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले कारबाही गरको हो । 

एन्फा प्रवक्ता किरण राईले शुक्रबार अबेर रातिसम्म ठमेलका विभिन्न क्लब चहारेको बलियो सूचना आएपछि तत्काल निलम्बन गरिएको बताए । ‘हामीले खेलाडीको सेवा–सुविधादेखि फुटबल विकासका लागि सक्दो प्रयास गरिरहेका छौँ, तर खेलाडी भने क्लोज क्याम्प छाडेर नाइट क्लबमा पुग्नु दुःखद छ,’ राईले भने । 

ठमेलमा उनीहरू रातभर मदिरामा लठ्ठिएर डिस्कोमा झुमेको मात्रै होइन, मोटरसाइकल दुर्घटनामा परेको पनि एन्फा स्रोतले बतायो । ‘खेलाडीहरू मदिरामा लठ्ठिएर रातभर डिस्कोमा मस्ती मात्रै गरेनन्, उनीहरू चढेको मोटरसाइकलसमेत दुर्घटनामा परेको छ, खुट्टामा चोट लागेको छ,’ एन्फा स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘लर्खरिँदै राति २ बजेतिर एन्फा कम्प्लेक्स आइपुगेका थिए । क्षमा दिनै नसकिने अवस्था भएपछि एन्फाले कारबाही गरेको हो ।’ विश्वकप छनोट खेलका लागि राष्ट्रिय टिम म्यानेजर मधुसुदन उपाध्यायले भने आफूले घटनाबारे विहान मात्रै थाहा पाएको बताए ।

शुक्रबार उनीहरू सागको क्लोज क्याम्पमा थिए । शनिबार भुटान जाने तयारीका लागि लगेज मिलाउनुपर्ने भन्दै साँझ त्यहाँबाट निस्किएको सागका टिम म्यानेजर अरुणमान जोशीले बताए । ‘हाम्रो टिम सांग्रीला ब्लु होटल कुपन्डोलमा बसेको थियो । हामीसँग भएका राष्ट्रिय टिमका सबै सदस्य लगेज मिलाउनुपर्ने भन्दै छुटी मागेर साँझ ७ बजेतिर यहाँबाट गएका हुन्,’ जोशीले भने, ‘त्यसपछि उनीहरू कता गए मलाई थाहा भएन ।’ 

सागको क्लोज क्याम्पबाट निस्किएपछि चार खेलाडी ठमेल गएका थिए । उनीहरू यसअघि पनि राति–राति डिस्को जाने गरेको एन्फा स्रोतले बतायो । ‘उनीहरू पहिले पनि त्यसरी जाने गरेको सूचना छ,’ स्रोतले भन्यो । नयाँ पत्रिकामा खबर छ । 

कमेन्ट गर्नुहोस्