३१ जेठ २०८३, आइतबार

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन नेपाल आउँदै

मंसिर ६, २०७६
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन नेपाल आउँदै

छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिङ पिङले नेपाल भ्रमण गरेको प्रसङ्ग सेलाउन नपाउँदै अर्को शक्तिशाली मुलुक रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्ने भएका छन् । 

पुस दोस्रो साता (आगामी डिसेम्बर अन्तिम साता) पुटिनले नेपाल भ्रमण गर्ने तयारी अघि बढेको छ ।

‘राष्ट्रपति पुटिनको ३ दिने नेपाल भ्रमणको कुरा भइरहेको छ, मिति तय भइसकेको छैन, उता (रूस) बाट डिसेम्बर अन्तिम साताका लागि प्रस्ताव आएको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको उच्च स्रोतले भन्यो ।

नेपालमा रहेको युरेनियम (रेडियोधर्मी) पदार्थ भण्डारको उत्खनन र खरिद गर्न चासो लिँदै रूसले पुटिनको भ्रमणको तयारी गरेको सो कार्यालयका उच्च अधिकारीले बताए । इन्धन र परमाणु हतियारको मुख्य कच्चा पदार्थका रूपमा प्रयोग गरिने युरेनियम चिकित्साशास्त्र, भौगर्भिक अध्ययनसहित विभिन्न प्रकृतिका वैज्ञानिक खोज अनुसन्धानमा समेत प्रयोग हुने गर्छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

रूस युरेनियम प्रशोधन गर्ने विश्वकै पहिलो सूचीमा रहेको छ । खानी तथा भूगर्भ विभागको टोलीले मुस्ताङको लोमाङथानमा १० किमि लम्बाइ र तीन किमि चौडाइ क्षेत्रमा बहुमूल्य धातु युरेनियम भण्डार भएको पुष्टि गरेपछि सो क्षेत्रको निगरानी नेपाली सेनाले गर्दै आएको छ ।

मकवानपुर धियालको तीनभंगाले, मकवानपुरकै चिरुवा र चाँदेखोला, काठमाडौंको उत्तर पश्चिमी क्षेत्र, शिवपुरी, नुवाकोटको ककनीलगायतका भेगमा समेत यस्तो धातु रहेको विभागको ठहर छ । अहिलेसम्मको अध्ययनअनुसार ठूलो र फराकिलो खानी भने लोमाङथानमा रहेको पुष्टि भएको छ ।

रेडियोधर्मी पदार्थको प्रयोग र ओसारपसार फराकिलो बनिरहेका बेला नेपालमा अहिलेसम्म यसबारे कानुन बनेको छैन । रेडियोधर्मी पदार्थ उत्खनन, प्रशोधन र अन्तर्रा्ष्ट्रिय बजार निर्यात गर्न आवश्यक पर्ने कानुन निर्माणका लागि अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)ले नेपाललाई सहजीकरण गर्दै आएको छ ।

पुटिन भ्रमणका क्रममा नेपाललाई ३ खर्ब रुपैयाँ हाराहारीको ‘सफ्ट लोन’ दिने प्रारम्भिक प्रस्तावसमेत आएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । उच्चस्तरीय भ्रमणको वातावरण तय गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली शनिबार रूसको राजधानी मस्को जाँदै छन् ।

उनी रसियाली समकक्षी सर्गेइ लावरोवको मैत्रीपूर्ण निमन्त्रणामा मस्को जाने तयारीमा जुटेका परराष्ट्र मन्त्रालयले जनाएको छ । तर पुटिनको नेपाल भ्रमणबारेको विस्तृत खबर आफूलाई प्राप्त नभएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले बताए ।

‘हाई लेभल भिजिटको सम्भावना सधैं हुन्छ तर तत्काललाई रसियाबाट त्यस्तो कुनै खबर आएको छैन, मन्त्रीज्यू चाहिँ शनिवार उता जाँदै हुनुहुन्छ,’ उनले भने ।

ज्ञवाली द्विपक्षीय मन्त्रीस्तरीय बैठक र रसियाका राजनीतिक दलका नेतासहित गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिसँगको भेटवार्तामा सहभागी हुने परराष्ट्रले जनाएको छ ।

नेपाल र तत्कालीन सोभियत संघबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । औपचारिक सम्बन्ध स्थापना भएको यति लामो अवधिमा सो मुलुकका तर्फबाट नेपालमा उच्चस्तरीय भ्रमण भएको छैन ।

त्यहाँका प्रधानन्याधीश, कम्युनिस्ट पार्टीका, तल्लो र माथिल्लो सदनका सांसदलगायतले मात्रै नेपाल भ्रमण गरेका छन् । नेपालका तर्फबाट भने पूर्वराजाहरू महेन्द्रले सन् १९५८, वीरेन्द्रले सन् १९७६ मा र तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले सन् २०१० मा रूसको भ्रमण गरेका थिए ।

तत्कालीन सभामुख सुवास नेम्वाङ, तत्कालीन एवं वर्तमान उपप्रधानमन्त्री उपेन्द्र यादव लगायतले पनि सो मुलुकको भ्रमण गरेका छन् । सरकारको पहल प्रभावकारी नहुँदा रूसबाट नेपालमा अहिलेसम्म उच्चस्तरीय भ्रमण हुन नसकेको सो मुलुकका लागि पूर्व राजदूत हिरण्यलाल श्रेष्ठ बताउँछन् ।

नेपालले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति र परिचयलाई फराकिलो बनाउन सबै मुलुकसँगको उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ । ‘ग्लोबल चेन्जमा सबैको सहयोग चाहिन्छ, नेपालबाट प्रभावकारी पहल भयो भने रूसबाट उच्चस्तरको भ्रमण असम्भव छैन,’ श्रेष्ठले भने ।

salt training

कमेन्ट गर्नुहोस्