
करेन्ट लगाएर माछा मार्ने क्रम बढेपछि ब्यास नगरपालिका–५ ले त्यसरी माछा मार्न प्रतिबन्ध लगाएको छ ।
करेन्टको प्रयोगले नदीमा माछा लोप हुन थालेपछि वडा कार्यालयले माछा मार्न प्रतिबन्ध लगाएको हो ।
वडा अन्तर्गत पर्ने मादी, सेती, साङ्गे खोला र प्राकृतिक तालमा विस्फोटक पदार्थ विषादी तथा विद्युतीय प्रक्रियाबाट माछा मारे कारवाही गरिने वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
गैरकानूनी तरिकाले माछा समात्ने र मार्ने व्यक्तिलाई २ हजारदेखि ५ हजार रुपैयाँसम्म जरिवाना वा जलचर ऐन बमोजिम कडा कारवाही गरिने उनले बताए ।
‘करेन्ट लगाएर माछा मार्ने क्रम बढेसँगै नदीमा माछा लोप हुँदै गएका छन्,’ उनले भने, ‘यस्ता कार्यलाई नियन्त्रण गर्न लागिपरेका छौं ।’ वडाध्यक्ष श्रेष्ठका अनुसार नदीमा करेन्ट प्रयोग गरे/नगरेकोबारे अनुगमन भइरहेको छ । माछा मार्नका लागि जालको प्रयोगलाई भने खुला गरिएको छ ।