
चीनमा एक स्वास्थ्य केन्द्रमा सुस्तश्रवण भएका बालबालिकामाथि दुर्व्यवहार गरेको आरोप लागेको छ ।
बेइजिङमा रहेको केन्द्रमा स्याहारसुसार गर्नेहरूले बालबालिकालाई अनुशासनमा राख्न कुचोले हिर्काएको र भोकभोकै राखेको बताइएको छ ।
बालबालिकाहरू भोकै र प्यासै राख्ने गरिएकोले भुइँबाट खाना टिप्न बाध्य भएको अनि बाथरूममा गएर पानी पिएको एक स्रोतले दाबी गरेको छ ।
प्रहरीले उक्त संस्थाका सातमध्ये दुईजना सुुसारेहरूलाई अनुसन्धानपछि पक्राउ गरेको छ ।
बेइजिङ मिङशेङ हीयरिङ स्याहार केन्द्रमा सातजना सुसारेले ३५ जना बालबालिकालाई हेर्ने गरेको अधिकारीहरूको भनाइ छ ।
कर्मचारीहरूले बालबालिकामाथि गरेको दुर्व्यवहारका बारेमा वीबोमा एक प्रयोगकर्ताले खुलासा गरेका हुन् ।
उनले नाम नखुलाइएका एक भित्रियालाई उद्धृत गर्दै केन्द्रमा रहेका बहुसंख्यक बालबालिकालाई सुन्नमा समस्या रहेको लेखे ।
घटनाको भिडियोमा एकजना बालकलाई एक सुुसारेले कुचोले हिर्काएको र ऊ रुँदै खाटमा बसेको देखिन्छ ।
अर्की कर्मचारी चाहिँ नजिक बसेर फोनमा खेलिरहेको अनि शारीरिक दण्ड दिनबाट नरोकेको देखिन्छ ।
भिडियोमा केन्द्र फोहर अवस्थामा रहेको अनि एक बालक भुइँमा बसेर रोइरहेको पनि देखिन्छ ।
वीबोको पोस्टमा सुसारेले बालबालिकालाई नितम्बमा पिटेको अनि खाटमा बस्दा कुचोले हिर्काएको आरोप लगाइएको छ ।
त्यसो नगरेको भए बच्चाहरूले घमण्ड देखाउने सुसारेले बताएका थिए ।
केन्द्रले बालबालिकाका मातापितालाई प्रत्येकलाई पढाउने र स्याहार गर्ने आश्वासन दिएको थियो ।
तर वास्तविक रूपमा चाहिँ सुस्त श्रवण भएका बालबालिकालाई कुनै पनि श्रवणयन्त्र नदिई दिनभरि टीभीअगाडि बस्न बाध्य बनाइने गरेको थियो ।
एजेन्सी