२७ असार २०८३, शनिबार

३७ जिल्लाको ५३७ मतदान केन्द्रमा उपनिर्वाचन आज, ढुक्क भएर मत दिन निर्वाचन आयोगको आग्रह

मंसिर १४, २०७६
३७ जिल्लाको ५३७ मतदान केन्द्रमा उपनिर्वाचन आज, ढुक्क भएर मत दिन निर्वाचन आयोगको आग्रह

शनिबार हुने उपनिर्वाचनका लागि खटिएका कर्मचारीलाई मतदान केन्द्र व्यवस्थापन र अन्य तयारीका लागि व्यस्तता बढेको छ भने सम्बन्धित क्षेत्रका मतदाता आफ्नो अमूल्य मतदानका लागि व्यग्र प्रतिक्षामा छन् ।

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका लागि हुन लागेको उपनिर्वाचनका लागि ती जिल्लामा तयारी पूरा भएको छ । निर्वाचन आयोगले सबै मतदान केन्द्रमा खटिएका कर्र्मचारी पुगिसकेको र मतपत्र, मतपेटिकालगायत आवश्यक सामग्री पठाइसकिएको जनाएको छ । कूल ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा कर्मचारीको खटनपटन भइसकेको छ ।
 
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार उपनिर्वाचनका लागि कूल पाँच हजार ५३२ कर्मचारी खटाइएको छ । निर्वाचनका लागि यसअघि आचारसंहिता लागू भइसकेको छ भने अहिले मौन अवधि जारी छ । यही मङ्सिर ११ गते रातिदेखि मौन अवधि शुरु भएकाले सामाजिक सञ्जालमा समेत प्रचार–प्रसार निषेध गरिएको छ ।
 
निर्वाचनका लागि गृह मन्त्रालयको संयोजकत्वमा सबै सुरक्षा निकायको सहभागितामा सुरक्षाकर्मी खटनपटन भइसकेको छ । सुरक्षाको तयारी र समीक्षा गर्न आज गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को अध्यक्षतामा आज सिंहदरबरमा बैठक सम्पन्न भएको छ । शनिबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन हुनेछ ।

गत साउन १६ गते १८ वर्ष पूरा भई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले यस निर्वाचनमा मतदान गर्न पाउनेछन् । मतदानका लागि मतदाता परिचयपत्र अनिवार्य गरिएको छ । मतदान केन्द्रको भित्री घेरामा नेपाल प्रहरी, बीचमा सशस्त्र प्रहरी र बाह्य घेरामा नेपाली सेना रहनेछ । 

निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ, मर्यादित र निष्पक्ष तुल्याउन संविधानविरोधी एवं अराजक गतिविधि हुन नदिन सुरक्षा सतर्कता र कडाइ अपनाइएको छ । निर्वाचनका लागि अनुगमनकर्ता, अधिकारकर्मी र सञ्चारकर्मीलाई पासको व्यवस्था गरिएको छ । मतदान हुने क्षेत्रमा मदिरा बिक्री वितरण र सेवन निषेध गरिएको छ भने मतदान केन्द्र तोकिएका विद्यालयको पठनपाठन तीन दिनका लागि बन्द गरिएको छ ।

 सुरक्षालगायत अन्य तयारी पूरा गरेको आयोगले मतदातालाई ढुक्क भएर आफ्नो अमूल्य मत मतपेटिकामा रुपान्तरण गर्न आग्रह गरिसकेको छ । प्रकाश सिलवाल, रासस

salt training

कमेन्ट गर्नुहोस्