
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै आईसीयूमा राखिएको छ । सम्भावित संक्रमणबाट जोगाउन उनलाई आईसीयूमा राखिएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । प्रधानमन्त्री ओलीलाई काममा फर्कन करिब १० दिन लाग्ने पनि उनीहरूले आकलन गरेका छन् ।
‘एपेन्डिसाइटिस’ सहित ‘पेरिटोनाइटिस’ (पेटको संक्रमण) देखिएपछि गत मंगलबार प्रधानमन्त्री ओलीको उक्त सेन्टरमा शल्यक्रिया गरिएको थियो । उनलाई थप कति दिन आईसीयूमा राख्ने भन्ने चिकित्सकहरूले खुलाएका छैनन् । उपचारमा संलग्न डा. सुवास आचार्यले पेटको घाउ आलै रहेका कारण बाहिर सारे अन्य संक्रमण हुने जोखिम भएकाले प्रधानमन्त्री ओलीलाई आईसीयूमै राखिएको बताए । ‘स्वास्थ्य अवस्था, क्षमता, गतिशीलता, खानपान हेरेर आईसीयूबाट बाहिर राख्ने विषयमा निर्णय गरिन्छ,’ सेन्टरले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा डा. आचार्यले भने ।
ओलीको एपेन्डिक्सको शल्यक्रिया गरेका डा. रमेशसिंह भण्डारीका अनुसार प्रधानमन्त्रीको शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएकाले मंगलबार संक्रमण सुरु भएको २–४ घण्टामै पेटभरि फैलिएको थियो । ‘उहाँको शरीरमा सामान्य व्यक्तिको दाँजोमा अत्यन्त छिटो संक्रमण फैलियो,’ उनले भने । पेटभरि एपेन्डिक्सको संक्रमण फेलिएकाले ‘ल्यापरोटोमी’ (पेटलाई पूरा चिरेर गरिने शल्यक्रिया) गरेर एपेन्डिसाइटिस हटाइएको थियो । ‘मंगलबार यहाँ आउँदा प्रधानमन्त्री धेरै बिरामी हुनुहुन्थ्यो,’ डा. भण्डारीले भने, ‘शल्यक्रियापछि संक्रमणको असर अलिअलि पेटमा भयो, रगतमा समेत भयो । तर हामीले आशंका गरेकोसम्म भएन । सोचेभन्दा राम्रो सुधार देखिएको छ ।’
शल्यक्रियाको प्रभाव र यसको संक्रमण नियन्त्रण भइसकेको जानकारी दिँदै उनले पछि देखिन सक्ने जटिलता र संक्रमणको डर मात्र रहेको बताए । उनले प्रधानमन्त्री आफ्नो काममा करिब १० दिनमा फर्कन सक्ने बताए । ‘प्रधानमन्त्रीले १० दिनजतिमा कसैको सहयोगमा कुरा गर्न, अन्तर्वार्ता दिन सक्नुहुन्छ,’ उनले भने, ‘तर शल्यक्रियाको घाउको स्थिति कस्तो हुन्छ, त्यो पनि महत्त्वपूर्ण छ ।’
प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले ओली खतरामुक्त रहेको जानकारी दिइन् । ‘तर भविष्यको कुरा समयले नै बताउँछ,’ उनले भनिन्, ‘शल्यक्रिया आफैंमा शतप्रतिशत सुरक्षित प्रक्रिया होइन । प्रत्यारोपण गरेको व्यक्तिमा एपेन्डिक्सको लक्षण ढिलो थाहा पाउने वा नपाउने पनि हुनसक्छ, किटाणु अत्यन्त तीव्र गतिले फैलिन्छ ।’ डा. शाहका अनुसार शल्यक्रियाले गर्दा रक्तस्रावको जोखिम भएकाले उनलाई बिहीबार प्लेटलेट्स चढाइएको थियो ।
प्रधानमन्त्रीको हालको स्वास्थ्य अवस्थाले सम्भावित मिर्गौला प्रत्यारोपणको समयलाई धेरै पर नसार्ने डा. शाहले बताइन् । ‘सबै चिज सोचेअनुसार भयो र एपेन्डिक्सको घाउ भरियो भने प्रत्यारोपणको समय पछाडि सर्दैन,’ उनले भनिन् । प्रधानमन्त्रीको मिर्गौलाको प्रत्यारोपण कहाँ गर्ने भन्ने निर्क्योल भइनसकेको डा. शाहले बताइन् ।
‘यहीँकै निजी वा सरकारी कुनै क्षेत्रमा पनि गर्न सकिन्छ,’ उनले भनिन्, ‘नेपाल प्रत्यारोपणमा आत्मनिर्भर छ ।’ उनले डायलसिसमै बस्दा पनि खासै फरक नपर्ने संकेत गरिन् । ‘मानिसले डायलसिसमै बसेर १०–२० वर्षसम्म काम गर्न सक्छन्,’ उनले भनिन्, ‘पत्यारोपणको फाइदा डायलसिसको झन्झटबाट मुक्त हुनु र अलि राम्रो स्वास्थ्य अवस्था पाउनु हो ।’ उनले प्रधानमन्त्री ओलीका लागि प्रत्यारोपण गर्न एकदम हतार गर्नुपर्ने अवस्था नरहेको बताइन् । ‘अनुकूल समय पारेर उहाँको प्रत्यारोपण गर्न सकिन्छ,’ उनले भनिन् ।
यसैबीच नेकपाका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार प्रधानमन्त्री ओलीसँग भेटेर उपचारमा संलग्न चिकित्सहरूबाट स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।