
धितोपत्र बजार यस साता पनि उतार चढावपूर्ण रह्यो । बजारले समातेको ओरालोको लय यस साता पनि उस्तै अवस्थामा रह्यो ।
५ कारोबार दिनमा बुधवार मात्रै बजारले केही सुधारको संकेत गरेको भएपनि अन्य दिन नकारात्मक नै रहेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कूल १६८ कम्पनीको शेयर कारोबार भयो । ५१ लाख ५१ हजार २२७ कित्ता शेयर १ अर्ब ३२ करोड १० लाख १७ हजार १३५ रुपैयाँमा कारोबार भयो ।
साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घट्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार सो दिन नेप्से १०.५४ विन्दुले घटेर १ हजार ११०.०८ विन्दुमा पुग्यो । कूल १६२ कम्पनीका ९ लाख २९ हजार ७४४ कित्ता शेयर २८ करोड ५ लाख ३४ हजार ४१५ रुपैयाँ मूल्यमा खरिद–बिक्री भए ।
सोमवार भने बजारमा रमाइलो दृश्य देखापर्यो । निरन्तर ओरालो लाग्दै आएको बजार सोमबार यथास्थितिमा रह्यो । नेप्से परिसूचकमा कुनै बदलाव देखिएन ।
नेप्से परिसूचक शून्यकै अवस्थामा रह्यो । त्यस दिन कूल १६८ कम्पनीका १० लाख ७८ हजार १६ कित्ता शेयर २८ करोड ८८ लाख ५८ हजार ४८४ रुपैयाँ मूल्यमा खरिद–बिक्री भए । मंगलवार भने नेप्से परिसूचक झिनो अंकले घट्यो । सो दिन नेप्से ०.९१ विन्दुले घटेर १ हजार १०९.१६ बिन्दुमा झर्यो ।
नेप्से आरोलो लागे पनि कारोबार रकम भने सामान्य रहन पुग्यो । कूल १६५ कम्पनीका ११ लाख ३४ हजार १५ कित्ता शेयर २९ करोड ५८ लाख ६९ हजार १८० रुपैयाँ मूल्यमा खरिद–बिक्री भए ।
बुधवार भने बजारमा सुधार देखापर्यो । नेप्से परिसूचक ८.३० अंकले वृद्धि भएर १ हजार ११७.४६ मा पुग्यो । कूल १६५ कम्पनीका ७ लाख ३८ हजार ४४६ कित्ता शेयर २१ करोड २३ लाख ६३ हजार ७३६ रुपैयाँमा खरिदबिक्री भए ।
बुधवारको सुधार बिहीबार टिक्न सकेन । त्यस दिन नेप्से परिसूचक ४.६७ विन्दुले घटेर १ हजार ११२.७९ मा पुग्यो । नेप्से ओरालो लागेसँगै कारोबार रकममा समेत गिरावट आयो । कूल १६६ कम्पनीका १२ लाख ७१ हजार ६ कित्ता शेयर २४ करोड ३३ लाख ९१ हजार ३२० रुपैयाँ मूल्यमा खरिदबिक्री भए ।
५ कम्पनीको शेयर सूचीकृत
नेप्सेमा यस साता विभिन्न ५ कम्पनीका शेयर सूचीकृत भए । त्यसमा नेको इन्सुरेन्सका १४ लाख ११ हजार ५३४ कित्ता शेयर लाभांश, नेपाल इन्सुरेन्स कम्पनीका ७ लाख ६४ हजार ३२७ कित्ता शेयर लाभांश, प्राइम लाइफ इन्सुरेन्सका २२ लाख ३१ हजार ४३ कित्ता शेयर लाभांश, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका १ करोड २ हजार ३८८ कित्ता शेयर सूचीकृत भए ।
ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ ।