
काठमाडौं, २७ चैत –नेपाली बजारमा भारतीय रसायिनक मलको बाहुल्य बढिरहेकोमा अब चिनियाँ रसायनिक मल पनि भित्रिएको छ ।
‘मिश्रित मलको प्रयोग गरौं : कृषिमा उत्पादकत्व बढाऔं’ मूल नाराका साथ नेपालस्थित आधिकारिक बिक्रेता वेला इन्भेष्टमेन्ट कम्पनी प्रालिले इलिफेन्ट ब्राण्डमा युरिया(मिश्रित) र डिएपी मल नेपाल भित्र्याएको हो ।
अन्य रासायनिक मलको तुलनामा मिश्रित मलका धेरै प्रकारका तत्व हुने भएकोले कम प्रयोग गरी उत्पादन बढाउन सकिने कम्पनीको दावी छ । यसले माटोको गुणस्तर बढाउने र र माटोको चिस्यान नष्ट हुनबाटसमेत जोगाउने कम्पनीका सञ्चालक वसन्तराज न्यौपानेले बताए ।
यो घोल बनाएर पनि खेतवारीमा प्रयोग गर्न सकिने र हाल प्रयोग हुँदै आएको भन्दा आधामात्रै प्रयोग गरे हुने पनि उनले बताए । कम्पनीले नेपालका विभिन्न क्षेत्रको कृषियोग्य भूमिको माटो परीक्षण गरी नेपाली माटो अनुकुलको मल ल्याएको बताएको छ ।
चीन–खुन्हा एक्सपोर्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत नावाङ चि जिङमीले किसान समृद्ध भएमात्रै मुलुक समृद्ध हुने भन्दै नेपाली किसान धेरै पीडित रहेको बताए ।
विगत २० वर्षसम्म खासा व्यापारका क्रममा आफूले नेपाली किसानलाई नजिकबाट नियाल्न पाएको उनको भनाइ थियो ।
हाल नेपालमा प्रचलनका अन्य रासायनिक मलको तुलनामा इलिफेन्ट ब्राण्डको मलको प्रयोग आश्चर्यजनकरुपमा उत्पादन र उत्पादकत्व बढ्ने उनको दावी छ । सामान्य अवस्थाको युरिया र डिएपीले माटो विगार्ने, जमिनमुनिको पानी सुकाउने र वातावरणलाइसमेत प्रतिकूल असर पार्ने भएकोले चीनमा यस्तो मल प्रतिवन्धित रहेको पनि उनले बताए ।
चीन र अमेरिकी सयुक्त लगानीका चीनको सिन्चुवान प्रान्तमा उत्पादित यो मल वार्षिक रुपमा १० हजार मेट्रिक टन बिक्री गर्ने कम्पनीको लक्ष्य रहेको छ ।