
गाउँमा खानेपानी थिएन । नजिकमा मुहान नभएको र टाढाबाट पानी ल्याउनका लागि स्रोतसाधनको अभावका कारण बाग्लुङको निसीखोला गाउँपालिका वडा नम्बर ३ का सर्वसाधारणले खोल्साखाल्सी र टाढाको पधेंरा धाउनुपर्ने बाध्यता थियो ।
टाढै रहेको मुहानबाट पानी ल्याएर घरघरमा धारा बनेपछि अब त्यहाँको समस्या हटेको छ ।
वडा नम्बर ३ बोहरागाउँमा अहिले ‘एक घर एक धारा’ जडान भएका छन् । अभियानस्वरुप घरघरमै धारा बनाएर खानेपानीको जोहो गरेको गाउँलेहरू बताउँछन् ।
सार्वजनिक धारा अन्त्य गरेर घरघरमै धारा बनाएपछि खानेपानीको बचाउ हुने र सदुपयोगसमेत हुने भन्दै अभियान चलाइएको हो । स्वच्छ खानेपानीको बिस्तार गरेर पूर्ण सरसफाइयुक्त गाउँपालिका बनाउने तयारीसमेत बनाइएको गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए ।
भएका पुराना योजना मर्मत गर्ने र पुनर्निर्माणको अभियान पनि थालिएको छ । सार्वजनिक धाराको अन्त्य गर्दै मिटर जडान गरेर घरघरमा पानीका धारा लैजाँदा संरक्षण हुने र लगानी खेर नजाने उनले बताए ।
जिल्लाकै दुर्गम मानिने निसीखोलामा मध्यपहाडी लोकमार्ग बनेकाले सडक छेउछाउमा बजार बढ्न थालेको छ । बजार क्षेत्रमा पहिलो चरणमा योजना सफल बनाएपछि ग्रामीण बस्तीमा पनि योजना लैजाने तयारी छ ।
देविस्थान, बोहोरागाउँ, निसी र भलकोट लगायतका बजारउन्मुख क्षेत्र, मध्यपहाडी लोकमार्ग आसपासमा खुलेका होटल तथा रेस्टुराँमा पहिलो चरणमा यस्ता धारा जडान गरिसकेका छन् । अभियानस्वरुप बोहोरागाउँस्थित झिवाखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका १११ घर र स्थानीय विद्यालयलाई धारा जडान गरिएको हो । सबैको घरमा धारा जडान गरेपछि मासिक ५० रुपैयाँका दरले मर्मत शुल्क संकलन गर्ने र समितिकै खातामा राख्ने व्यवस्था गरिएको छ । धेरै पानी प्रयोगकर्ताले १०० रुपैयाँसम्म तिर्नेछन् ।
निजी धारा र शुल्क तिर्ने प्रावधानलाई बानी बसाल्न समुदायमा सचेतना अभियानसमेत थालिएको छ । सो योजना सफल पार्न नेवाले १९ लाख ८८ हजार रुपैयाँ लगानी गरेको छ । गाउँपालिकाले १ लाख रुपैयाँ, स्थानीयले ४ लाख रुपैयाँ र ५ लाख ७१ हजार रुपैयाँको श्रमदान गरेर ३० लाख ५९ हजारमा आयोजना सम्पन्न भएको हो ।
खानेपानी आयोजना सफल बनाउन नेवाले समुदायस्तरमा बालक्लब गठन गरेर सरसफाइसम्बन्धी प्रशिक्षण, क्लबका लागि कोष र शैक्षिक सामग्रीसमेत प्रदान गरेको गण्डकी प्रदेशका प्रबन्धक कुमार सिलवालले बताए ।