०५ साउन २०८३, मंगलबार

प्रवक्ता बाँस्कोटाको प्रस्टोक्ति : ‘वर्तमान सरकार देशभक्तहरूको हो’

मंसिर २०, २०७६
प्रवक्ता बाँस्कोटाको प्रस्टोक्ति : ‘वर्तमान सरकार देशभक्तहरूको हो’
फाइल फोटो

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकार देशभक्तहरूको भएको बताएका छन् ।

उनले वर्तमान सरकार ‘हुतिहारा, कायर र बोल्न नसक्ने’हरूको नभएको जिकिर गरे । 

एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोग तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय कार्यान्वयन एकाइ (शिक्षा)मार्फत काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–४ चौबासमा नवनिर्मित सेतीदेवी माध्यमिक विद्यालय भवनको उद्घाटन एवं हस्तान्तरण कार्यक्रममा उनले वर्तमान सरकार देशभक्त, न्यायप्रेमी जनताको सरकार भएको बताए ।

‘हामी कसैको एक इञ्च पनि जमीन मिच्न जाँदैनौं, हाम्रो धर्तीको जमीन पनि कसैलाई दिँदैनौं, बुझाउँदैनौं, यो सरकार देशभक्त र न्यायप्रेमी जनताको सरकार हो,’ मन्त्री बाँस्कोटाले भने, ‘सरकारले कसैलाई अन्यायपूर्ण व्यवहार गर्दैन । नेपालीलाई कसैले अपमान र धक्का पुग्ने काम गर्छ भने सहने छैनौं ।’

उनले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा अघि बढ्न राष्ट्रिय सहमति प्राप्त भइसकेकाले कूटनीतिक र राजनीतिक प्रयासलाई पहिलो प्राथमिकतामा राखिने बताए ।

मन्त्री बाँस्कोटाले सुस्ताको विषय पनि बाँकी रहेकाले सरकारले क्रमैसँग कूटनीतिक र राजनीतिक प्रयास जारी राख्ने दोहोर्‍याए । ‘सुस्ताको विषय पनि बाँकी नै छ, यी समस्या समाधान गर्न समय लाग्छ,’ उनले भने । कालापानी, लिपुलेक र लिम्पियाधुराका देखिएका समस्याको समाधान कूटनीतिक र राजनैतिक तवरबाट हुने उनले प्रस्ट पारे । उनले जनताको चिन्ता र चासोप्रति सरकारको ऐक्यबद्धता रहेको बताए ।

‘हाम्रो देश कसैको उपनिवेश भएन, नेपाल कसैसँग हारेन र कसैको दास बनेन,’ उनले भने । मन्त्री बाँस्कोटाले शुक्रवारै एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोग तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय कार्यान्वयन एकाइ (शिक्षा)मार्फत काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–२ सिम्थलीमा नवनिर्मित अरुणोदय माध्यमिक विद्यालयको भवन उद्घाटन गरे ।

सो अवसरमा उनले वर्तमान सरकारको प्राथमिकता शिक्षा र स्वास्थ्य क्षेत्र भएको दाबी गरे । उनले भने, ‘सरकार शिक्षा र स्वास्थ्यमा नीतिगत परिवर्तनको प्रयासमा छ, यसपछि सामुदायिक विद्यालयको गुणस्तर वृद्धि हुँदै जानेछ ।’ उत्पादन प्रणालीलाई शिक्षासँग जोड्नुपर्ने उनले धारणा व्यक्त गरे । 

कार्यक्रममा ३ नम्बर प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवर लगायतले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा स्थानीयको तहको भूमिका महत्त्वपूर्ण रहेको धारणा राखेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्