२४ जेठ २०८३, आइतबार

मानव बेचबिखन सञ्जाल सक्रिय, विदेश लगेर अलपत्र पार्ने क्रम बढ्यो

मंसिर २१, २०७६
मानव बेचबिखन सञ्जाल सक्रिय, विदेश लगेर अलपत्र पार्ने क्रम बढ्यो
फाइल तस्वीर

उनीहरूले नेपाली महिला र पुरुष विदेशी भूमिमा लैजान थालेका छन् । विगतमा नेपाली महिला धेरैजसो भारतमा बेचिने गर्थे । सरकार तथा गैरसरकारी क्षेत्रबाट कडाइ भएपछि यसरी बेचिने क्रम घट्यो । त्यसपश्चात अवैध ओसारपसारमा संलग्नले रूट फेर्दै महिला लैजाने काम थालेको हो ।

गएको शुक्रबार इन्डोनेसियाबाट पाँच जनाको उद्धार गरिएको थियो । त्यही क्षेत्रबाट एक महिनाअघि एक महिलासहित छ जनाको उद्धार नेपाल प्रहरीसहितको टोलीले गर्‍यो । केही दिनअघि मात्र चीन पुगेकी एक महिला फर्काइयो । त्यस्तै तीन जना महिलालाई बिहे गरेर यौनदासी बनाउन चीन लैजाँदै गरेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रहरीले पक्राउ गर्‍यो ।

महिलालाई लैजानेले छोटो रूट प्रयोग गर्न थालेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता गोविन्द थपलियाले भने, भारत, माल्दिभ्स, श्रीलङ्का हुँदै अफ्रिकी मुलुकमा नेपाली महिला लैजान थालेका छन् । पुरुष लैजाने तस्करले लामो रुट प्रयोग गर्दै युरोप, अमेरिका, अस्ट्रेलियामा सञ्जाल फैलाएको छ ।

पछिल्लो समय चीनमा नेपाली महिला यौनदासीका रूपमा प्रयोग भइरहेको सूचना प्रहरीकहाँ आइपुगेको छ । बिहे गरेर लगेपछि कतिपयलाई घरमै यौनदासीका रूपमा राख्ने, बच्चा जन्मेपछि नेपाली महिलालाई अर्को व्यक्तिसँग चीनमै बिहे गराइदिने गरेको पाइएको छ, थपलियाले सुनाए, तर उद्धारका लागि त्यहाँ पुग्ने सञ्जाल नबनेकाले सकिएको छैन । केही महिलालाई भने कामको बहानामा यौन व्यापारमा संलग्न गराएको सूचना आएको छ । अफ्रिकी मुलुक केन्या, इथियोपिया, मालावी, लिबियालगायतका देशबाट समेत महिलाको उद्धार गरिएको छ । उद्धार गरेका महिलाले उजुरी दिएर झन्झटमा पर्न नखोज्दा त्यस्ता तस्करको हौसला बढेको उनी बताउँछन्।

नेपाली महिलालाई अवैधानिक रूपमा पत्याउनै नसक्ने देश पुर्‍याउने क्रम बढेको एटविनका अध्यक्ष अञ्जना शाक्य पनि पुष्टि गर्छन्। एटविन महिला तथा बालबालिका बेचबिखनविरुद्धको सहकर्मी समूह हो । । पहिले भारत हुँदै लगिएका महिला बढी भेटिन्थे, उनले भने, अब श्रीलङ्का, माल्दिभ्स, चीन र इन्डोनेसियाबाट महिला लैजाने गिरोह सक्रिय भएको छ । ।

भारतबाट लैजाँदा पछिल्लो समय त्यहाँको विमानस्थलले धेरै महिला देखेपछि ‘नो अब्जेक्सन लेटर’ दिन थालेको छ । त्यसैले पनि महिला बेचबिखन गर्नेहरूे नयाँ नयाँ रुट विकल्पमा प्रयोग गर्न थालेका हुन् ।

नेपालबाट कतिपय देशमा सामान्य रूपमा भिसा पाउन कठिन छ । त्यस्ता देशमा समेत राहदानी नै नबोकी नेपाली महिला हिंसा भोगेर आएका उदाहरण भेटियो, उनले थपे, कहाँबाट सजिलो पर्छ, त्यतैको रुट प्रहरी झुक्याउँदै जान थालेको प्रस्ट हुन्छ ।

नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले पनि भारतबाट शुरू भएको महिला बेचबिखन र ओसारपसार अहिले खाडी मुलुक र त्यसबाहिर पनि फैलन पुगेको बताउँछन् । बेचिएर दुबईको क्यासिनोसम्म नेपाली महिला पुगेको फेला पारेका छौँ । उनी औंल्याउँछन्, नेपाली महिलाको ओसारपसार र बेचबिखन विस्तारै युरोपका ठूला सहरमा प्रवेश भइसकेको छ । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्