११ साउन २०८३, सोमबार

साग महिला फूटबलमा भारतसँग नेपाल पराजित

मंसिर २१, २०७६
साग महिला फूटबलमा भारतसँग नेपाल पराजित

काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गतको महिला फुटबलमा आयोजक नेपाल चीरपरिचित प्रतिष्पर्धी भारतसँग पराजित भएको छ ।

पोखरा रंगशालाको फूटबल मैदानमा शनिवार लीग चरणको अन्तिम खेलमा नेपाल भारतसँग १–० गोलअन्तरले पराजित भएको हो । 

लीगको अन्तिम खेलमा स्पर्धा गरेका दुवै टोलीले एक खेलअगावै फाइनलमा स्थान बनाइसकेकाले शनिवारको खेल औपचारिकताका लागि मात्र थियो ।

भारतको जीतमा खेलको पहिलो हाफको १८ औं मिनेटमा एनजी बाला देवीले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

डेङ्गमी ग्रेनसले प्रहार गरेको ‘कर्नर किक’लाई अनमार्क रहेकी एनजी देवीले हेडमार्फत सेकेण्ड बार च्याप्दै बललाई पोस्टको दिशा दिएकी थिइन् । खेलमा फर्कन कडा मेहनत गरेको नेपालले बराबरीका लागि केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेन । नेपालका फरवार्ड सावित्रा भण्डारीलाई विपक्षी खेलाडीले शनिवार खुलेर खेल्ने मौका नै दिएनन् ।

समूह चरणका ३ खेल जितेको भारत ९ अंकसहित समूह विजेता बनेको छ भने नेपाल २ खेलमा जीत र १ खेलमा हारसँगै ६ अंकका साथ समूह उपविजेता बन्यो । नेपाल र भारतले पुनः आगामी मंसिर २३ गते स्वर्ण पदकका लागि स्पर्धा गर्नेछन् ।

खेलपछिको पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले विपक्षी टोलीले पाएको कर्नर बल रोक्न नसोक्नु टोलीका लागि दुर्भाग्य भएको बताउँदै फाइनल खेलमा गल्ती कम गर्दै स्वर्णका लागि खेल्ने बताए ।

भारतीय टोलीका प्रशिक्षक मेयामोल रकीले खेलाडीको प्रदर्शनभन्दा पनि खेलको नतिजासँग आफू सन्तुष्ट रहेको बताउँदै खेल अत्यन्त प्रतिष्पर्धापूर्ण रहेको प्रतिक्रिया दिए । महिला फुटबलमा तेस्रो स्थानका लागि शनिवार भएको स्पर्धामा माल्दिभ्सले २–१ गोलअन्तरले श्रीलंकालाई पराजित गर्दै कास्य पदक जितेको छ । 

मंसिर १७ गतेदेखि शुरू भएको महिला फुटबल प्रतियोगितामा आयोजक नेपालसहित भारत, माल्दिभ्स र श्रीलंकाले सहभागिता जनाएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्