
चीनको विदेशी मुद्रा सञ्चिती ३०.९५ खर्ब अमेरिकी डलर पुगेको छ। यो तथ्यांक नोभेम्बर महिनाको अन्त्यसम्मको हो।
विदेशी मुद्राको सञ्चितीमा २२ अर्ब ९० करोड डलर (०.७ प्रतिशत) ले वृद्धि भएको शनिबार सार्वजनिक गरिएको सरकारी तथ्यांकमा उल्लेख छ।
चिनियाँ विदेशी मुद्रा व्यवस्थापन विभागका प्रवक्ता वाङ चुनयिङले विदेशी मुद्रा भण्डारमा विनिमय दर र सम्पत्तिको मूल्यमा हुने परिवर्तन समेतका कारणबाट प्रभावित हुने गरेको बताए।
विश्वको आर्थिक वृद्धि, मौद्रिक नीतिका प्रक्षेपण र विश्व व्यापार समेतका कारणले अमेरिकी डलरको सूचकाँकमा वृद्धि भएको तथा प्रमुख अर्थतन्त्र भएका मुलुकको बन्डको मूल्यमा गिरावट आएको उनले बताए।
चीनले ल्याएको आर्थिक खुलापन र सुधारका कार्यहरुले नै चिनियाँ अर्थव्यवस्थालाई सन्तुलित र भरोसायोग्य बनाएको उनको प्रतिक्रिया छ ।