
भण्डरा–मलेखु चेपाङ पहाडी मार्गमा शनिबार साँझ अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
राप्ती नगरपालिका–४ बाट भण्डराको चौकी डाँडा आउँदै गरेको ना १ ह ६४०९ नम्बरको अटो रिक्सा अनियन्त्रित भएर सडकबाट पल्टिएको प्रहरीले जनाएको छ । अटोमा ६ जना सवार थिए । गम्भीर घाइते भएकाहरुको उपचारका क्रममा निधन भएको हो ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाका अनुसार मृतक मध्ये पर्वतको कुस्मा पिपलटारीका ३५ वर्षीय श्यामप्रसाद तिवारीको मात्रै सनाखत भएको छ । अन्य चार जनाको सनाखत हुन नसकेको डीएसपी कोइरालाले बताए । तिवारीको उपचारका क्रममा पुरानो मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा निधन भएको हो ।
सोही अस्पतालमा एकजना लगभग ३५ वर्षीय पुरुषको पनि उपचारको क्रममा निधन भएको छ । त्यसैगरी २५/३० वर्षीया महिलाको पनि सोही अस्पतालमा उपचार हुँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । भरतपुरको सरकारी अस्पतालमा उपचार हुँदै गर्दा एकजना ३५/४० वर्षकी महिला र सोही उमेरको जस्तै देखिने अर्की महिलाको पनि उपचारको क्रममा निधन भएको डीएसपी कोइरालाले बताए । कान्तिपुर दैनिकमा खबर छ ।