
जलवायु परिवर्तन र पोषक तत्वबाट उत्सर्जन हुने प्रदूषणका कारण महासागर, समुद्रमा अक्सिजन घटिरहेको छ। बढ्दो तापमान र अक्सिजन कमीका कारण माछासहित जलचरको अस्तित्व खतरामा रहेको प्रकृतिको क्षेत्रमा काम गर्ने समूह ‘आईयूसीएन’ को अध्ययनले देखाएको हो।
शोधकर्ताहरूका अनुसार समुद्रमा पोषक तत्वमा कमी आइरहेकोमा पछिल्लो समय जलवायु परिवर्तनका कारण स्थिति झन खराब बन्दै गएको छ।अध्ययन अनुसार १९६० को दशकमा महासागरमा ४५ यस्ता स्थान थिए, जहाँ अक्सिजन कम थियो । तर, हाल यो संख्या बढेर ७०० पुगेको छ।
अक्सिजनको कमीका कारण ट्यूना, मार्लिन र शार्कसहित कयौँ प्रजाती खतरामा छन्।
खेती र कारखानाबाट निस्कने नाइट्रोजन तथा फस्फोरस जस्ता रसायनलाई महासागरको खतराको कारकको रुपमा औँल्याइएको छ। र, समुद्रमा अक्सिजनको स्तर प्रभावित भइरहेको छ।
अधिक मात्रामा कार्बन डाइअक्साइड उत्सर्जन हुँदा तापमान बढिरहेको छ। र, अधिकांश गर्मी समुद्र सोस्ने गर्छ। जसकारण पानी तातो हुन्छ र, अक्सिजनको मात्रा घट्छ। वैज्ञानिकहरुको अनुमान छ, कि सन् १९६० देखि २०१० को बीचमा समुन्द्रमा अक्सिजनको मात्रा २ प्रतिशतले घटेको छ। केही क्षेत्रमा अक्सिजनको मात्रामा ४० प्रतिशतसम्म कमी आउने आशंका गरिएको छ।
अक्सिजनको कमी हुँदा पृथ्वीको जनजीवनमा नोक्सान पुग्छ। मिन्ना एप्सको भनाइ छ कि यदि अक्सिजन कम भएमा जैविक विविधतालाई हानी पु-याउँछ।
अक्सिजनको कमी भएको क्षेत्रमा ग्रीनहाउसबाट निस्काशन हुने ग्यास रोक लगाउनु पर्ने हुन्छ। योसँगै खेती र अन्य क्षेत्रबाट निस्काशन हुने प्रदूषणलाई काबूमा ल्याउन जरुरी रहेको वैज्ञानिकहरुको भनाइ छ।