
ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा परशुराम कुँवर क्षेत्रीले शुक्रबारदेखि पद बहाली गरेका छन् । ग्लोबल आइएमई बैंकमा जनता बैंक गाभिई मंसिर २० गतेदेखि एकिकृत कारोबार शुरू भएको हो ।
तीन दशकभन्दा बढी समय बैंकिङ क्षेत्रमा रहेएका क्षेत्री २०७४ साल असार १ गतेदेखि जनता बैंक नेपालको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए । यसअघि उनले तत्कालीन बैंक अफ एसिया र ग्राण्ड बैंकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा नेतृत्व गरिसकेका छन् ।
वि.सं. २०४२ सालदेखि तत्कालीन ग्रिनलेज बैंकबाट बैंकिङ क्यारियर शुरू गरेका क्षेत्रीले तत्कालीन सरकारले विदेशी विज्ञ समेतको सहभागितामा गठन गरेको नेपाल बैंक लिमिटेडको वित्तीय सुधार कार्यक्रमको टीममा रहेर करीब तीन वर्ष ६ महिना कार्य गरेका थिए ।
गत शुक्रबार सम्पन्न भएको मर्जरको औपचारिक कार्यक्रम पश्चात बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले क्षेत्रीलाई पदबहाली गराएका हुन् । एकीकृत ग्लोबल आइएमई बैंकको प्राथमिक पुँजीकोष रु. २४ अर्ब, कुल निक्षेप २१३ अर्ब, कुल कर्जा १९४ अर्बभन्दा बढी रहेको छ ।
७ वटै प्रदेश र ७७ वटै जिल्लामा पुग्ने गरी बैंकका ३ सयभन्दा बढी शाखा/सञ्जाल, २५९ एटीएम, २४४ शाखारहित बैंकिङ सेवा, ३३ एक्स्टेन्सन तथा राजस्व काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८४० भन्दा बढी सेवा केन्द्रहरू रहेका छन् ।