
काठमाडौं–निजगढ द्रूत मार्ग (फास्ट ट्र्याक)को ट्र्याक खोल्नेसहित जग लेभलको काम ८० प्रतिशत सम्पन्न भएको दाबी नेपाली सेनाले गरेको छ ।
द्रूतमार्ग निर्माणको जिम्मा पाएको सेनाले सोमवार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी जग लेभलको काम ८० प्रतिशत सकिएपनि समग्रमा २८ प्रतिशत काम सम्पन्न भएको जानकारी गराएको हो ।
भौगोलिक अवस्था, पहुँच मार्ग, कार्य जटिलता, निर्माण गर्न लाग्ने समय आदिलाई मध्यनजर गरी निर्माण कार्यलाई प्राथमिकताका आधारमा विभाजन गरेर विभिन्न चरणमा काम अघि बढाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
ललितपुरको खोकनाबाट शुरू भएर बाराको निजगढमा सम्पन्न हुने द्रूतमार्गको कूल लम्बाइ ७२.५ किलोमिटर हुनेछ ।
४ लेनको सडक पहाडी क्षेत्रमा २५ मिटर र समथर भू–भागमा २७ मिटर चौडाइको हुने नेपाली सेनाले जनाएको छ ।
द्रूतमार्गमा ८७ वटा त पुल नै हुनेछन् । पुलको मात्र लम्बाई १०.५९ किलोमिटर हुने बताइएको छ ।
यसका अलावा ३ स्थानमा सुरुङ निर्माण गरिनेछ ।
महादेवडाँडा, धोद्रे र लेनडाँडामा गरी ३ वटा सुरुङको कूल लम्बाइ ६ दशमलव ४१ किलोमिटर हुने सेनाले जनाएको छ ।