०५ साउन २०८३, मंगलबार
बढ्दो चोरी

कुपन्डोलबाट चोरिएको २२० सीसी पल्सर मोटरसाइकललाई पछ्याउँदा ...

मंसिर २४, २०७६
कुपन्डोलबाट चोरिएको २२० सीसी पल्सर मोटरसाइकललाई पछ्याउँदा ...

काठमाडौंका सञ्जय विष्टले हालसालै खरिद गरेको प्रदेश ३ प ०२– ००८ प २५९ नम्बरको २२० सीसी पल्सर मोटरसाइकल यही मंसिर ७ गते ललिपुरको कुपन्डोल क्षेत्रबाट चोरियो ।

बैंकमा काम परेपछि उनले त्यहाँनजिकै पार्किङ गरेका थिए । १० मिनेट बैंकभित्र भुले । बाहिर निस्किँदा उनको नयाँ मोटरसाइकल राखेको ठाउँमा थिएन ।

विष्टले तत्कालै महानगरीय प्रहरीको अस्थायी प्रहरी बिट कुपन्डोलमा खबर गरे । 

उजुरी प्राप्त भएलगत्तै महाशाखाअन्तर्गत चोरी शाखाका प्रहरी सादा पोशाकमा खटिए ।

प्रहरीले बाइक चोरी भएको स्थान नजिकको सीसीटीभी फूटेज मगाएर हेर्‍यो । दिउँसो ३ बजेको समयमा एक युवकले बाइकको लक फोरेर चोरी गरेको फूटेजमा देखियो, तर चोर्ने व्यक्तिको अनुहार भने पहिचान भएन ।

प्रहरीले उपत्यकाबाट बाहिरिने नाकाहरूमा निगरानी बढायो । सबै नाकामा प्रहरीलाई अलर्ट राखियो ।

यसबीचमा मंसिर ९ गते बिहान ८ बजे महानगरीय ट्राफिक प्रहरी महाशाखाको १०३ नम्बरमा एउटा फोन आयो । 

फोन गर्ने व्यक्तिले भने– ‘सानेपाको गल्लीमा २२० सीसीको पल्सर मोटरसाइकल हिजोेबाट शंकास्पदरूपमा पार्किङ गरेर राखिएको छ । लिन कोही पनि आउँदैन ।’

तत्कालै सादा पोशाकमा प्रहरी परिचालन भयो । 

कुपन्डोलबाट चोरिएको बाइक हुनसक्ने शंका प्रहरीलाई थियो किनकी यसअघि पनि कतिपय बाइक चोरेर उपत्यकाबाहिर लैजान राजधानीमै केही दिन पार्किङ गर्ने गरेको जानकारी प्रहरीलाई थियो ।

प्रहरी सहायक निरीक्षक (सई)सहित ३ जना फोनमा बताइएको लोकेसन पछ्याउँदै सानेपा पुगे । 

कुपन्डोलबाट चोरिएको पल्सर बाइक त्यहीँ थियो ।

प्रहरी तत्काल त्यो बाइक नियन्त्रणमा लिनुभन्दा बाइक लिन आउने मान्छे कुरेर बस्यो ।  

दिनभरी कोही आएन, रात पनि यसै बित्यो । यो सिलसिला ३ दिन २ रातसम्म जारी रह्यो । प्रहरी कुरेरै बस्यो किनभने प्रहरीलाई बाइक मात्र नियन्त्रणमा लिनु थिएन, चोरलाई पनि समाउनु थियो ।

तेस्रो रात एक युवक बाइक लिन आए । बाइक स्टार्ट गर्न नपाउँदै प्रहरीले ती युवकलाई नियन्त्रणमा लियो ।

प्रहरीको नियन्त्रणमा परेका युवक थिए, बारा कोल्हबी नगरपालिका– १ का २७ वर्षीय प्रमोदकुमार पनुहर । 

मंसिर ११ गते पक्राउ परेका प्रमोदले प्रहरीसँगको बयानमा आफूले बाइक तराईसम्म पुर्‍याउने जिम्मा मात्र पाएको बताएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी साहयक निरीक्षक रमेश बजगाईंले लोकान्तरलाई जानकारी दिए ।

प्रमोदको बयान उद्धृत गर्दै बजगाईंले लोकान्तरसँग भने– ‘उसले बाइक चोरी गर्ने १ जना, बाइक तराइसम्म पुर्‍याउने १ जना र बिक्री गर्ने अर्कै हुन्छन्, म त बाइक पुर्‍याउने मात्र हो भन्ने बयान दिएको छ ।’ 

आफूलाई प्रहरीले पहिलोपटक नियन्त्रणमा लिएको भन्दै प्रमोदले घमण्ड पनि गरे । आफ्नो हातमा बाइक परेपछि हत्तपत्त प्रहरीको हात नलाग्ने अनुभवसहितको जिकिर उनको थियो ।

चोर्ने र नाका कटाउनेलाई १५/१५ हजार !

यसरी चोरिएका बाइक चोर्ने र निधारित गन्तव्यमा पुर्‍याउने दुवैले १५/१५ हजार रूपैयाँ पाउने गरेको तथ्य प्रहरीले पत्ता लगाएको छ ।

‘बाराका प्रमोदकुमार पनुहर र पाँचखालका भीष्म घतानीले आफूहरूले बाइक चोरेर तराईसम्म पुर्‍याएबापत उक्त रकम पाउने गरेको बयान दिएका छन्,’ बजगाइँले भने ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरीमा संलग्नलाई नियन्त्रणमा लिई मंसिर ११ गते सार्वजनिक गरेको थियो ।

सार्वजनिक गरिएका थिए, बारा कोल्हबी नगरपालिका–१ का प्रमोदकुमार पनुहर, बाजुराको हिमाली गाउँपालिका– १ का १९ वर्षीय सुरेन्द्र मल्ल र काभ्रे पाँचखाल नगरपालिका ११ का २३ वर्षीय भीष्म घतानी ।

४ महिनामा हराए ५ सय ५४ मोटरसाइकल !

महानगरीय ट्राफिक प्रहरी महाशाखामा पछिल्लो ४ महिनामा ५ सय ५४ वटा मोटरसाइकल चोरीको उजुरी परेका छन् । यो चालू आर्थिक वर्ष २०७६/०७७ को अघिल्लो ४ महिनाको तथ्यांक हो ।

यसमध्ये १ सय ४७ वटा मोटरसाइकल चोरीसम्बन्धी उजुरीलाई प्रहरीले अनुसन्धानमा अघि बढाएको छ ।

पछिल्लो ४ महिनाको अवधिमा ९६ वटा मोटरसाइकल भेटेर धनीलाई बुझाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भीमदत्त ढकालले लोकान्तरलाई जानकारी दिए ।

‘यसबीचमा १४ वटा मोटरसाइकलसहित २८ जना चोरलाई कारवाहीका लागि पठाएका छौं,’ ढकालले भने ।

बर्सेनि बढ्दै चोरी

मोटरसाइकल चोरीको समस्या बर्सेनि बढ्दै गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा १ हजार ३ सय ८२ मोटरसाइकल हराएका उजुरी महाशाखामा परेका थिए । जसमध्ये ३ सय ७६ मोटरसाइकल अनुसन्धानको दायरामा ल्याएको थियो भने २ सय ५१ मोटरसाइकल खोजेर सवारी धनीलाई जिम्मा लगाएको थियो ।

आर्थिक वर्ष २०७५/०७६ मा १ हजार ६ सय ११ मोटरसाइकल हराएको उजुरी परेका थिए, जसमध्ये ३ सय ६५ मोटरसाइकल अनुसन्धानको दायरामा ल्याएको थियो । १ सय ८९ मोटरसाइकल सवारी धनीलाई जिम्मा लगाएको प्रहरीको तथ्यांक छ ।

salt training

कमेन्ट गर्नुहोस्