
धुलिखेल नगरपालिकाले विद्यालय क्षेत्र वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण निषेध गर्ने अभियान शुरू गरेको छ ।
नगरपालिकाले बजार अनुगमन कार्य समेत सुरूआत गरेको छ ।
नगरपालिकाका उपप्रमुख विमला शर्माको नेतृत्वको टोलीले वडा नम्बर ११ पात्लेखेत र वडा नम्बर ७ सञ्जीवनी बजारका विद्यालय क्षेत्र आसपासमा सञ्चालनमा रहेका होटल तथा किराना पसलको सोमबार अनुगमन गर्दै सुर्तीजन्य पदार्थ नियन्त्रण लिएको नगरपालिकाले जनाएको छ ।
चुरोट, सुर्ती, गुट्खा लगायतका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिनुका साथै मादक पदार्थ बिक्री वितरण नगर्न निर्देशन जारी गरिएको अनुगमन टोलीले जनाएको छ । वडा नम्बर ११ का किराना पसल सञ्चालक गीता खत्रीले अनुगमनको क्रममा फेला पारेका चुरोट र सुर्तीजन्य पदार्थ नियन्त्रण नगरी सचेत गराई रोक लगाउनुपर्ने बताइन् ।
व्यवसायी भरतकुमार धितालले अनुगमनको क्रममा पहिलोपटक सचेत मात्रै गराएर फेला पारेका सुर्तीजन्य सामग्री फिर्ता हुनुपर्ने माग गरे । अनुगमन टोलीका नगर शिक्षा शाखा अधिकृत भोजकुमार ठकुरीले सुर्तीजन्य पदार्थ सामग्रीको प्रयोगले ससाना विद्यार्थीमा लत बस्ने, भविष्यमा गम्भीर असर पार्ने हुँदा विद्यालय क्षेत्रको करीब १०० मिटर वरपर बेचबिखन नगर्न सचेत गराइएको बताए ।
सो क्रममा टोलीले सुर्तीजन्य र मदिराजन्य पदार्थ १८ वर्षभन्दा मुनिका बालबालिकालाई बिक्री वितरण नगर्न निर्देशन समेत दिएको छ । नगर उपप्रमुख शर्मा नेतृत्वमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रशासकीय अधिकृत, सम्बन्धित वडाका वडाध्यक्ष, नगरपालिकाका कर्मचारी र प्रहरी प्रशासन सहितको टोलीले करीब ३ दर्जन पसल तथा होटलको अनुगमन गरेको थियो ।
नगर उपप्रमुख शर्माले स्थानीय सरकारलाई अनुगमनको जिम्मा दिएपछि नगरले विभिन्न समयमा बजार अनुगमन गर्दै आएको र यसक्रममा विद्यालय क्षेत्र वरपरको बजार अनुगमन गरिएको बताइन् । ‘अनुगमनका क्रममा हामीले विद्यालय र कलेज आसपासमा विद्यार्थीलाई लतमा पार्ने खालका सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्न नपाइने भएकाले त्यस्तो वस्तुमा रोक लगाउन नगरपालिकाले अनुगमन शुरु गरेका हौं,’ उनले भनिन् ।