२३ असार २०८३, मंगलबार

वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीलाई विजयबाबु स्मृति पत्रकारिता पुरस्कार

मंसिर २४, २०७६
वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीलाई विजयबाबु स्मृति पत्रकारिता पुरस्कार

विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०७६ बाट लोकान्तर सञ्चार प्रालिका अध्यक्ष तथा वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी सम्मानित भएका छन् ।

नेपाल समाचार केन्द्रले न्युज कारोबार डटकमको तेस्रो वार्षिकोत्सवको अवसरमा अधिकारीलाई मंगलवार पुरस्कार प्रदान गरेको हो ।

वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले पुरस्कार हस्तान्तरण गरे । प्रमुख अतिथि नेपालले वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीलाई दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरे । स्व. पत्रकार विजयबाबुको स्मृतिमा स्थापना भएको पुरस्कार पहिलो पटक वरिष्ठ पत्रकार अधिकारीलाई प्रदान गरिएको छ ।

स्व. विजयबाबु खत्रीले नेपालमा चलिरहेको पत्रकारिताको धारमा नयाँ क्षेत्र आर्थिक क्षेत्रमा कलम चलाउने प्रयत्न गरेको स्मरण गर्दै राष्ट्र बैंकका गभर्नर नेपालले भने, ‘अहिले कहाँबाट कतिबेला के छापिन्छ भन्ने त्राहीयुक्त वातावरण छ । पत्रकारिता क्षेत्र सबैभन्दा बढी अध्ययन गरिने क्षेत्र भएकाले समाजलाई कुन बेला के राम्रो हुन्छ, त्यो गर्नुपर्छ ।’

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले स्व. पत्रकार विजयबाबु खत्रीको स्मृतिमा अधिकारीलाई प्रदान गरिएको पुरस्कार नेपाली पत्रकारिता क्षेत्रलाई नै भएको बताए । ‘अहिले ठेगाना नै नभएका बेनामे अनलाइन र यूट्युबले पत्रकारिता क्षेत्रलाई नै प्रश्न उठाएको सन्दर्भमा पत्रकार ध्रुवहरि अधिकारी सम्मानित हुनु नेपाली पत्रकारिता क्षेत्रको नै सम्मान हो,’ अध्यक्ष आचार्यले भने ।

वरिष्ठ पत्रकार अधिकारी

पुरस्कार ग्रहण गर्दै वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले वाक स्वतन्त्रतालाई संविधानले पनि व्यवस्था गरेको उल्लेख गर्दै मिथ्या सञ्चारमाध्यमको बिगबिगी बढेको धारणा राखे । ‘समाचारको स्रोत आधिकारिक रुपमा नखुलाइकन प्रकाशन/प्रसारण गर्दा त्यसको विश्वसनीयता हुँदैन, मिथ्या समाचार र ट्रोलबाट सचेत हुनुपर्छ,’ अधिकारीले भने । पत्रकारिता क्षेत्रमा मर्यादाको प्रश्न उठेको बेलामा आफूले पाएको पुरस्कार नेपाली पत्रकारिता क्षेत्रको लागि भएको अधिकारीले बताए ।

स्व. पत्रकार विजयबाबु खत्रीको २०३४ सालमा स्याङ्जाको खिलुङ देउरालीमा जन्म भएको थियो । पत्रकारितामा सक्रिय रहेका सिलसिलामा दुर्घटनामा परेर २०६८ मंसिरमा खत्रीको निधन भएको थियो ।

स्व. पत्रकार खत्रीकी पत्नी लक्ष्मी श्रेष्ठले विगत ३ वर्षदेखि न्युज कारोबार डटकम सञ्चालन गरेर पत्रकारितालाई निरन्तरता दिएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्