०४ असार २०८३, बिहीबार
इन्धनले असुरक्षा

पेट्रोल पम्प भद्रगोल हुँदा आगलागीको जोखिम : सर्वसाधारण त्रसित, प्रशासन निरीह !

मंसिर २५, २०७६
पेट्रोल पम्प भद्रगोल हुँदा आगलागीको जोखिम : सर्वसाधारण त्रसित, प्रशासन निरीह !

बुटवलको मिलनचोकस्थित भारी आयल स्टोर घरभित्रबाटै सञ्चालित छ । बुटवलको मुख्य चोकमा घरबाटै सञ्चालित पेट्रोल पम्पले त्यस क्षेत्रमा जोखिम बढाएको छ ।

राजमार्ग चौराहा नजिकै रहेको भैरव आयल स्टोर नजिकै सिद्धार्थ कटेज रेस्टुरेन्टसँगै गाडीहरू मर्मत गर्ने वर्कशप छ । 

बुटवल हस्पिटल लाइनमा रहेको गैरे पेट्रोल पम्पको वरिपरि होटल र मेडिकलहरू छन् । पम्प र त्यहाँ सञ्चालित टहरामा उत्तिकै जोखिम छ । 

पाल्पा बसपार्कमा ज्योति पेट्रोल पम्प घरसँगै जोडिएको छ । यी ५ नम्बर प्रदेशको अस्थायी राजधानी बुटवल बजार क्षेत्रभित्र रहेका जोखिमयुक्त पेट्रोल पम्प हुन् । 

बुटवलका पम्पहरू नेपाल आयल निगमले तोकेको मापदण्डविपरीत सञ्चालित छन् । बजार क्षेत्रमा भद्रगोल रूपमा सञ्चालित पेट्रोल पम्पमध्ये बजारको बीचैमा सानो ठाउँमा पम्प सञ्चालन गर्दा आगलागीको जोखिम हुने गरेको छ ।

पेट्रोल, डिजेल, मट्टितेलजस्ता अति प्रज्वलनशील पदार्थको कारोबारस्थल असुरक्षित र मापदण्ड विपरीत हुँदा समेत नियमनकारी निकायले कुनै चासो दिएको देखिँदैन । 

पटक–पटक उजुरी गर्दा समेत नियमनकारी निकाय उदासीन छ । बजारमा रहेका पेट्रोल पम्पको अनुगमन गर्ने जिम्मा नेपाल आयल निगमको हो । नेपाल आयल निगम भलवारी डिपो प्रमुख सुरज शाहले बजार क्षेत्रमा सञ्चालित धेरै पेट्रोल पप्पले जोखिम बढाएको स्वीकार गरे । ‘पप्पहरू व्यवस्थित गर्न आवश्यक छ तर सरकारले केही नियम बनाउनुपर्छ,’ उनले लोकान्तरसँग भने । 

बुटवलसँगै आसपास क्षेत्रहरू (सैनामैना, तिलोत्तमा, देवदह, सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक नगरपालिकामा सञ्चालित पेट्रोल पम्प पनि मापदण्ड अनुसार चलेका छैनन् । जसले गर्दा बजारवासीदेखि सर्वसाधारणले त्रासमा बस्नुपरेको छ । मापदण्ड विपरीत सञ्चालनमा रहेका पेट्रोल पम्पबाट एकातर्फ सर्वसाधारणले त्रासमा बस्नुपरेको छ भने अर्कातिर सिंगो बुटवल क्षेत्र नै ठूलो विपद्को जोखिममा परेको छ । नेपाल आयल निगम भलवाडी डिपो प्रमुख सुरज शाहले पुरानो विनियमलाई नयाँ मापदण्डमा नलैजाँदा पुराना पप्पलाई व्यवस्थित गर्न नसकिएको बताए । 

‘यो समस्या देशभर नै छ । २०५३ भन्दा पहिला सञ्चालन भएका पम्पहरू व्यवस्थित छैनन् । सडकको नजिकै छन् । बस्तीसँगै छन् । यिनलाई नयाँ मापदण्ड अनुसार सञ्चालनका लागि नयाँ नियमले केही बोलेको छैन,’ उनले भने, ‘शुरूमा सानो क्षेत्रमा खुले बजार विस्तार हुँदा पप्प विस्तार गर्ने ठाउँ भएन । त्यसैले नीति नै परिर्वतन गर्न आवश्यक छ ।’

मापदण्डमा सडकभन्दा २५ मिटर परको दूरीमा मात्रै पम्प सञ्चालन गर्न पाइने उल्लेख छ । मापदण्ड अनुसार पम्प अगाडिको भू–भाग कालोपत्रे हुनुपर्ने, शौचालय हुनुपर्ने, पानीको धारा हुनुपर्ने उल्लेख छ तर अधिकांश पप्पमा यी कुनै पनि कुरा लागू भएको देखिँदैन । रूपन्देही जिल्लामा १४५ वटा पेट्रोल पम्प सञ्चालनमा छन् । 

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले पुराना पेट्रोल पम्पले असहजता बढाएको लोकान्तरलाई बताए । ‘नयाँ पेट्रोल पम्प व्यवस्थित छन् तर पुराना (२०५३ अगाडि) अनुमति लिएर सञ्चालितले जोखिम बढाएका छन् । आवास क्षेत्र र घरसँगै जोडिएका पेट्रोल पम्पले जोखिम सिर्जना भएको छ ।’

पम्पको अति संवेदनशील क्षेत्रमा सुरक्षाको कुनै घेराबन्दी नहुनु, जोसुकै व्यक्ति सलाई, लाइटरजस्ता आगजनी हुनसक्ने वस्तु लिएर र धुम्रपान गरेर संवेदनशील क्षेत्रमा जानसक्ने वातावरण हुनुले पेट्रोल पम्प जोखिमयुक्त अवस्थामा सञ्चालन भइरहेका छन् ।

पेट्रोल पम्प आफ्नै घरको छेउमा हुँदा आफूलाई सधैं त्रास महसूस भएको स्थानीय बताउँछन् । सुख्खानगरकी सीता पराजुलीले बजार क्षेत्रका असुरक्षित पम्पलाई राज्यले छिट्टै व्यवस्थापन गर्नुपर्ने बताइन् । ‘व्यस्त बजारमा अब पेट्रोल पम्पहरू राख्न हुँदैन । अन्यत्र सार्नुपर्छ । जोखिमलाई मोलेर जनता राम्रोसँग सुत्न सक्दैनन्,’ उनले भने ।

असुरक्षित पम्पहरू कुनै पनि बेला विपद्को कारक बन्न सक्ने उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष नोर्बु लामाले बताए । पेट्रोल पम्पको नियमन गर्ने मुख्य जिम्मेवारी नेपाल आयल निगमको भएपनि पेट्रोल पम्पले सुरक्षा जोखिम बढाउँदा जिल्ला प्रशासन कार्यालयले समेत अनुगमन गर्न सक्छ । 

पेट्रोल पम्प सञ्चालन सम्बन्धी पुरानो मापदण्ड र निर्देशिकामा १ पम्पदेखि अर्को पम्पको दूरी न्यूनतम ५ सय मिटर हुनुपर्ने उल्लेख छ । 

निर्देशिकामा १० किलोका ३ वटा अग्नि नियन्त्रक ग्यास सिलिण्डर, न्यूनतम १ हजार लिटर पानी, बालुवा, साबेल, पिग, बाल्टिन लगायतका सामग्री हरदम तयारी अवस्थामा राख्नुपर्ने उल्लेख गरिएको छ । सडकभन्दा २५ मिटर परको दूरीमा मात्रै पम्प सञ्चालन गर्न पाइने मापदण्डमा उल्लेख छ भने पम्प अगाडि रहेको जमिन कालोपत्रे हुनुपर्ने मापदण्डमा उल्लेख छ । पम्पमा आउने सेवाग्राहीलाई अनुकूल हुने गरी शौचालयको व्यवस्था गरिनुपर्ने कानुनी व्यवस्था छ । 

२०७५ सालमा आयल निगमले नयाँ पेट्रोल पम्पका लागि जारी गरेको मापदण्डअनुसार साधारण बिक्रेता र पेट्रोल विक्रेताबीचको बिक्रीस्थलको दूरी कम्तिमा ३ सय मिटरको दूरीमा हुनुपर्नेछ तर पूर्वपश्चिम राजमार्गको हकमा भने दूरी पाँच सय मिटरभन्दा बढी हुनुपर्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्