०६ असार २०८३, शनिबार

अटो रिक्सा व्यवसायीको मनोमानी, यात्रुको अनुहार हेरेर अचाक्ली भाडा असुली

मंसिर २५, २०७६
अटो रिक्सा व्यवसायीको मनोमानी, यात्रुको अनुहार हेरेर अचाक्ली भाडा असुली

कर्णालीको राजधानी वीरेन्द्रनगरमा अटो व्यवसायीको मनोमानी बढ्दै गएको छ ।

मनपरी रुपमा भाडा असुल्ने र वीरेन्द्रनगर नगरपालिकाले पारित गरेको कार्यविधि नमान्ने गरेका छन् । वीरेन्द्रनगर नगरपालिकाको १ वर्षअघिको तथ्यांकअनुसार वीरेन्द्रनगरमा करीब १३ सयभन्दा बढी अटो रिक्सा छन् ।

वीरेन्द्रनगर नगरपालिकाले अटो रिक्सा व्यवस्थापन सम्बन्धी निर्देशिका पारित गरिसकेको छ । नगरपालिकाले गत २०७५  असोजमै कार्यविधि बनाएपनि अटो रिक्सा व्यवसायीले कार्यविधिअनुसार नचलेको पाइएको छ ।

नगरपालिकाको अटो रिक्सा सम्बन्धी निर्देशिकाको बुँदा नम्बर ७ मा अटो रिक्सा चालकले पालना गर्नुपर्ने नियम स्पष्ट उल्लेख गरिएको छ तर अधिकांश अटो रिक्सा चालकले नियम नमानेको स्थानीयले गुनासो गरेका छन् ।

‘निर्देशिकामा सवारी चलाउँदा गीत बजाएर चलाउन नपाइने भनिएको भएपनि मज्जाले गीत घन्काएर हिँडिरहेका छन् । कसैले अनुगमन पनि गरेको छैन, कारवाही पनि भएको छैन,’ वीरेन्द्रनगर–६ का धर्मराज जिसीले भने, ‘कार्यविधिमा पनि लेनअनुसार अटो चलाउनुपर्ने भनिएको छ तर सडक खाल्डाखुल्डी भएको कारण देखाउँदै क्याम्पस लाइनदेखि हटिया चोकसम्म र घण्टा घरदेखि नगरपालिका कार्यालय हुँदै जाने सडकमा गलत लेन र सडक बाहिरबाट धुलो उडाउँदै अटो गुड्ने गरेका छन् ।’

नगरपालिकाको निर्देशिकाको मुख्य कुरा नै अधिकांश अटो रिक्सा चालकले मानेका छैनन् । नगरपालिकाको निर्देशिकामा स्थान अनुसारको भाडादर उल्लेख गरी अनिवार्य सवारीमा टाँस गर्नुपर्ने भनिएपनि अधिकांश अटो व्यवसायीले भाडादर टाँसेका छैनन् । बरु यात्रुको अनुहार हेरेर मनपरी भाडा असुल्ने गरेका छन् । 

निर्देशिकामा कालोपत्रे गरिएको सडकमा सवारीसाधनमा यात्रा गरेबापत प्रत्येक यात्रामा न्यूनतम २० रुपैयाँ र त्यसपछि प्रतिकिलोमिटर थप ५ रुपैयाँका दरले भाडादर कायम हुनेछ भने कच्ची सडकमा सवारीसाधनमा यात्रा गरेबापत प्रत्येक यात्रामा न्यूनतम २० रुपैयाँ र त्यसपछि प्रतिकिलोमिटर थप १० रुपैयाँका दरले भाडादर कायम हुने उल्लेख गरिएको छ तर स्थानीयका अनुसार वीरेन्द्रनगरमा सञ्चालित अधिकांश अटो रिक्साले निर्देशिका पालना नगरी मनपरी भाडा असुलिरहेका छन् ।

मनपरी भाडा असुल्नेलाई नगरपालिकाको निर्देशिकाको नियम १० को उपनियम (२) मा तत्काल ट्राफिक प्रहरीले नियमानुसार जरिवाना गर्नेछ र रकम तत्काल बुझाउन नसक्नेलाई २४ घण्टाभित्र सम्बन्धित नगरपालिका कार्यालयमा पठाउनुपर्नेछ । नगरपालिकाले कसूर खुलाई ट्राफिक प्रहरीको पूँजीको आधारमा पहिलो पटक १ हजार ५०० रुपैयाँ, दोस्रो पटक २ हजार रुपैयाँ, तेस्रो पटक २ हजार ५ सय रुपैयाँ र त्यसपछि पटकैपिच्छे दोब्बर जरिवाना गरी सचेत गराउन सक्ने निर्देशिकामा उल्लेख छ ।

‘मान्छे अनुसार भाडा माग्छन् । मलाई पनि पहिले क्याम्पस रोडदेखि हटियासम्मको ४० रुपैयाँ लिन्थे । अचेल म बार्गेनिङ गर्छु । मसँग २० रुपैयाँ लिन्छन् । मसँगै यात्रा गरेका कसैसँग ५० रुपैयाँसम्म असुल्छन्,’ दैनिकजसो अटो रिक्सामा आवतजावत गर्ने नन्दकृष्ण आचार्यले भने, ‘नयाँ मान्छे जस्तो देखे भने १०० रुपैयाँभन्दा कम भाडा लिँदैनन् ।’

salt training

कमेन्ट गर्नुहोस्