
व्यवस्थापनको चरम लापरबाहीका कारण नेपाल वायुसेवा निगमले एक वर्षमा ६८ करोडभन्दा बढी फजुल खर्च गरेको पाइएको छ । सामान्य पार्टस् मर्मत गर्नुको साटो भाडामा लिने तथा अनावश्यक रुपमा विदेशी पाइलट भर्ती गरेर निगमले एक वर्षमा सो रकम फजुल खर्च गरेको हो ।
एक महिनाअगाडि मात्रै निगमको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै कार्यकारी अध्यक्ष मदन खरेलले खर्च कटौतीमार्फत एक वर्षमा २ अर्ब बचाउने घोषणा गरेका थिए । एपियू मर्मत नगर्दा ३४ करोड स्वाहानेपाल वायुसेवा निगमको एयरबस ३२०–२०० सिरिजका दुई जहाजको इन्जिन स्टार्ट गर्ने मेसिन एक्ज्युलरी पावर युनिट (एपियू) मर्मत नगर्दा मात्रै ३४ करोड रुपैयाँ फजुल खर्च भइसकेको छ । निगमको न्यारोवडी एयरबस ३२० ‘लुम्बिनी’ र ‘सगरमाथा’मा एपियू मर्मत नगरी भाडामा प्रयोग भइरहेको छ । लुम्बिनी जहाजको एपियू गत माघ २६ गते र सगरमाथाको एपियू जेठ १५ देखि बिग्रिएको छ । एपियू, जहाजको मुख्य इन्जिन स्टार्ट गर्ने र इन्जिन स्टार्ट हुनुअघि जहाजमा एयर कन्डिसनिङलगायत अन्य विद्युतीय उपकरण सञ्चालन गर्ने मेसिन हो ।
यी उपकरण भाडामा लिएर लुम्बिनी जहाज १ सय ८२ पटक र सगरमाथा जहाजमा १ सय १८ पटकसम्म प्रयोग भएको छ । भाडामा लिएर एपियू र जिपियू प्रयोग गर्दा लुम्बिनी जहाजमा मात्रै हालसम्म १५ करोड ६९ लाख ६० हजार रुपैयाँ बढी खर्च भएको छ । त्यस्तै, सगरमाथामा १२ करोड ६१ लाख रुपैयाँ बढी खर्च भएको छ । तर, सो मेसिन ५० लाख रुपैयाँ खर्च गरेर १५ दिनमै बनाउन सकिने निगम स्रोतको भनाइ छ । त्यस्तै, नयाँ खरिद गर्दा पनि ४ करोडमा अन्तर्राष्ट्रिय बजारमा यो मेसिन सहजै पाइन्छ । ८ करोड खर्चेर नयाँ मेसिन नै आउने भए पनि कमिसनको लोभमा निगम व्यवस्थापनले दुई थान एपियू भाडामा प्रयोग गरिरहेको हो ।
निगमले हाल भाडामा लिएको एपियूको दैनिक ७ सय ५० डलर र एक घन्टाको ७९ डलर तिर्नुपर्छ । त्यस्तै, जिपियू प्रयोग गरेबापत एकपटकको १ हजार ८ सय डलर तिर्नुपर्छ ।
लुम्बिनी जहाजमा १ सय ८२ पटक जिपियू प्रयोग गर्दा हालसम्म १५ करोड ६९ लाख ६० हजार रुपैयाँ खर्च भइसकेको छ । त्यस्तै, सगरमाथा जहाजमा १ सय ७४ दिन एपियू प्रयोग गरेर १ करोड ४८ लाख खर्च गरिएको छ । सोही जहाजमा १ सय १८ दिन जिपियू प्रयोग गरेबापत ९ करोड ६७ लाख ८६ हजार रुपैयाँ र एपियूको प्रतिघन्टाका दरले ७८ लाख ७३ हजार रुपैयाँ खर्च गरिएको छ । यसरी सगरमाथामा कुल १२ करोड ६१ लाख ५४ हजार रुपैयाँ खर्च गरिएको छ । नयाँ पत्रिकामा खबर छ ।