२४ जेठ २०८३, आइतबार

फोरजी प्रविधिको प्रयोग बढ्दै, प्रयोगकर्ता ४३ लाख पुगे

मंसिर २६, २०७६
फोरजी प्रविधिको प्रयोग बढ्दै,  प्रयोगकर्ता ४३ लाख पुगे

तीन वर्षअघि नेपालमा शुरूभएको चौथो पुस्ताको फोरजी प्रविधिको प्रयोग अहिले विस्तार हुँदै गएको छ ।

दूरसञ्चार सेवा प्रदायकले फोरजीलाई केन्द्रित गर्दै सेवा विस्तार गर्न थालेपछि फोरजीमा आकर्षण बढेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको भदौसम्मको तथ्याङ्कअनुसार देशभर ४३ लाख ५५ हजारले फोरजी प्रयोग गर्छन् । थ्रीजीको तुलनामा उच्च गतिको इन्टरनेट र भिडियोसमेत हेर्न उपयोगी हुने भएपछि पछिल्लो समय फोरजीका ग्राहक थपिदै गएका छन् ।

सङ्ख्यात्मक हिसाबले एनसेलका फोरजी प्रयोगकर्ता निकै धेरै छन् । प्राधिकरणका अनुसार एनसेलका मात्रै ३२ लाख ९२ हजार प्रयोगकर्ता छन् । नेपालमै पहिलोपटक फोरजी सेवा शुरूगरेको नेपाल टेलिकमका भने आठ लाख ३४ हजार प्रयोगकर्ता छन् । त्यस्तै सबैभन्दा पछि फोरजी सेवा शुरूगरेको स्मार्ट टेलिकमका भने दुई लाख २७ हजार फोरजी प्रयोगकर्ता छन् । अहिले तीनवटै सेवा प्रदायकले १८ सय मेगाहर्ज ब्यान्डमा प्रविधि तटस्थताको आधारमा उपलब्ध फ्रिक्वेन्सी प्रयोग गरेर फोरजी सेवा उपलब्ध गराइरहेका छन् ।

एनसेलले देशका मुख्य सहरमा फोरजी सेवा विस्तार गर्ने लक्ष्यअनुसार चार दर्जनभन्दा बढी सहरमा यो सुविधा उपलब्ध गराएको जनाएको छ । नेपाल टेलिकमले देशैभर फोरजी सेवा विस्तार गर्ने लक्ष्यसहित गत माघ २० गतेदेखि काम अगाडि बढाएको थियो । टेलिकमका अनुसार पछिल्लो समय ५० भन्दा बढी जिल्लामा फोरजी नेटवर्क विस्तार भइसकेको छ ।

टेलिकमले असोज १५ गते एक औपचारिक कार्यक्रम आयोजना गर्दै देशका पाँच दर्जन ठाउँमा एकैपटक फोरजी सेवा विस्तार गरेको जनाएको थियो । प्राधिकरणको पछिल्लो तथ्याङ्क भदौसम्मको मात्र भएकोले असोजको तथ्याङ्क यसमा समेटिएको छैन । टेलिकमले करिब २० अर्ब रुपियाँ लगानी गरेर एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको फोरजी नेटवर्क विस्तार परियोजनाबाट ६५ लाख ग्राहक थप हुने जनाएको छ ।

निजी क्षेत्रको अर्को सेवा प्रदायक स्मार्ट सेलले भने लगानी अभावमा फोरजी सेवा विस्तार गर्न सकिरहेको छैन । प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता तोकिएको अन्तिम समयमा पनि नबुझाएपछि कम्पनीको लाइसेन्स खारेजीमा परेको थियो । आफ्नो लाइसेन्स जोगाउन सरकारसमक्ष पुनरवेदनमा गएकोमा स्मार्टको उक्त निवेदन अहिले मन्त्रिपरिषद्को समितिमा छलफलको क्रममा छ । प्राधिकरणको तथ्याङ्कअनुसार विगत एक वर्षको अवधिमा मात्रै २३ लाखभन्दा बढी फोरजी ग्राहक थपिएका छन् ।  गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्