
जुम्लाको हिमा गाउँपालिकाले शहीद, दलित र विपन्न परिवारका बालबालिकालाई लक्षित गर्दे आवासीय विद्यालय सञ्चालन गरेको छ ।
सशस्त्र द्वन्द्वका क्रममा दुवै पक्षबाट मारिएका शहीद र विपन्न परिवारका बालबालिकालाई लक्षित गर्दै आवासीय विद्यालय स्थापना गरेको हो ।
स्थानीय सरकार गठन भएलगत्तै विक्रम संवत् २०७५ सालमा गाउँपालिकाको पहलमा आवासीय विद्यालय स्थापना गरिएको हो । विद्यालयमा ५२ बालबालिका अध्ययनरत छन् ।
छिमेकी जिल्ला कालिकोटका ४ स्थानीय तहका ८ र जुम्लाका ३ स्थानीय तहका ४४ विपन्न र शहीद परिवारका छोराछोरी आवासीय विद्यालयमा पढिरहेका छन् । कालिकोटको तिलागुफा र खाँडाचक्र नगरपालिका तथा पलाँता र महावु गाउँपालिकाका ८ र जुम्लाका तिला, हिमा र सिञ्जा गाउँपालिकाका ४४ विद्यार्थी आवासीय विद्यालयमा पढिरहेका छन् ।
शहीद परिवार, अनाथ, विपन्न र अर्काको भरमा पालिएका बालबालिकाको शैक्षिक अवस्थालाई सुधार गर्नका लागि आवासीय विद्यालय स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले बताए ।
घरपरिवारबाट राम्रो शिक्षा पाउन नसक्ने बालबालिकालाई लक्षित गरी विद्यालय स्थापना गरिएको उनको भनाइ छ । आवासीय विद्यालयमा अध्ययन गर्न आएका सबै बालबालिकालाई खान, बस्न, स्कूल पोशाकलगायत औषधि उपचारको सबै जिम्मेवारी गाउँपालिकाले लिएको अध्यक्ष शाहीले जानकारी गराए ।
आवासीय विद्यालयमा कक्षा २ सम्म अंग्रेजी माध्यमबाट पढाइहुने गरेको र उच्च शिक्षासम्मको जिम्मेवारी स्थानीय सरकारले लिने बताए । द्वन्द्वका क्रममा अभिभावक गुमाएकासहित तथा विपन्न परिवारका सदस्यलाई आफ्ना सन्ततिलाई शिक्षा दिन गाह्रो हुने भएकाले स्थानीय सरकारले बालबालिकाको जिम्मा लिएको शाहीको भनाइ छ ।
‘देशको शासन व्यवस्थापन परिवर्तन गर्न बन्दुक उठाएर धेरै व्यक्ति शहीद भए,’ शाहीले भने, ‘ती सहितका बालबालिकाले शिक्षा पाउने अधिकार स्थानीय सरकारले सुनिश्चित गर्नुपर्छ ।’
आवासीय विद्यालयले प्रत्येक वर्ष २० देखि २२ नयाँ बालबालिका भर्ना लिने गरेको छ । पहिलो वर्ष २४ बालबालिकालाई भर्ना लिएर पठनपाठन शुरूआत गरिएको अध्यक्ष शाहीले जानकारी दिए ।
स्थापनाको वर्षमा १० लाख रुपैयाँ, गत आवमा २० लाख रुपैयाँ र चालू आवमा २० लाख रुपैयाँ रकम विद्यालयका लागि विनियोजन गरिएको अध्यक्ष शाहीले बताए ।