१२ असार २०८३, शुक्रबार

नारायणगढ–मुग्लिन सडकका ८ स्थानमा पहिरो रोक्ने काम गरिने

मंसिर २७, २०७६
नारायणगढ–मुग्लिन सडकका ८ स्थानमा पहिरो रोक्ने काम गरिने
फाइल फोटो

सडक विस्तारको काम सम्पन्न भएपनि पहिरोको जोखिम कायमै रहेको नारायणढ–मुग्लिन सडक खण्डका ८ स्थानमा पहिरो रोक्ने काम गरिने भएको छ ।

सडकमा दिउँसो ११ देखि ३ बजेसम्म सवारी रोकेर शुक्रवारदेखि काम थालिने भनिएकामा पानी परेपछि काम शुरू हुन सकेको छैन । 

नारायणढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार सो सडक खण्डको ८ स्थानमा पहिरो रोक्नका लागि तार, रड लगायतका सामग्री प्रयोग गरेर गरिने रक नेटिङ, बायोइन्जिनीयरिङ, बोल्टिङ लगायतका काम गरिँदैछ ।

सडक खण्डको १५ किलो, १८ किलो, घुमाउने, भालुढुंगा, जलबिरे, चारकिलो, टोपे खोला र कालीखोला नजीक पहिरो रोकथामका काम गरिने खनालले जानकारी दिए ।

ती काम ६ महिनाभित्र सम्पन्न गर्ने गरी बज्रगुरु, हिमशिखर र न्यू टेक्निकल कम्पनीले संयुक्त रुपमा १२ करोड रुपैयाँको बोलपत्र सकार गरेका छन् । कामका क्रममा ढुंगा र माटो खस्ने भएकाले सडक रोकेर काम गर्न लागिएको हो ।

नालका अनुसार पहिलो चरणमा खुकुलो माटो र ढुंगा झारिने छ । गत वर्ष सडक विस्तारको काम सम्पन्न भए पनि पहिरो नियन्त्रणको काम सकिएको थिएन । नयाँ प्रविधिको उच्चतम प्रयोग गरी पहिरो रोक्ने काम गर्न लागिएको हो । 

बाटो सम्पन्न भएसँगै चारवटा पुल बनाउन थालिएकामा ३ वटा सम्पन्न भइसकेका छन् भने एउटा अन्तिम चरणमा पुगेको छ । बाँकी १५ पुलको निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । सडकको चौडाइ ९ देखि ११ मिटरसम्म फराकिलो बनाइएको भएपनि पुल ५ दशमलव ५ देखि ६ मिटरसम्म मात्र चौडाइ रहेको छ । यो सडक राजधानी भित्रने प्रमुख सडक हो । 

नारायणगढ–मुग्लिन सडक खण्डको पहिरो रोकथामको काम गर्नका लागि शुक्रवारदेखि २ सातासम्म दिनमा सवारी रोक्न लागिएको भएपनि पानी परेका कारण शुक्रवार काम शुरू नभएको हो । यसै सडक हुँदै दैनिक १० हजार सवारी गुड्छन् ।

salt training

कमेन्ट गर्नुहोस्