२२ जेठ २०८३, शुक्रबार

माधव नेपालको क्षेत्रमा सडकको बेहाल, ‘भीआईपी' नेताप्रति स्थानीय आक्रोशित

मंसिर २७, २०७६
माधव नेपालको क्षेत्रमा सडकको बेहाल, ‘भीआईपी' नेताप्रति स्थानीय आक्रोशित

काठमाडौंको चाबहिलदेखि साँखुसम्मको सडकखण्ड कालोपत्र नहुँदा स्थानीय वर्षौंदेखि धुलो धुवाँ र खाल्डोको समस्याबाट आजित छन् । सरकारले गत २०७२ सालमा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा अर्थात् ४ लेनको सडक बनाउने योजना ल्याएपछि  सडकखण्डको निर्माण शुरू भएको थियो । 

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणका लागि बोलपत्र आह्वान गरी ४ निर्माण व्यवसायीलाई सडक निर्माणको ठेक्का दिएको थियो । ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा ४ कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप १ कम्पनी गरी ५ ठेकेदार कम्पनीले सडक विस्तारको जिम्मा पाएका थिए । 

चाबहिलदेखि साँखुसम्म पुग्ने सडकखण्ड काठमाडौं महानगरपालिका र गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शंखरापुर गरी ३ नगरपालिकामा अवस्थित छ । ४ वर्षदेखि अलपत्र सो सडकको अवस्था धुलाम्मे र हिलाम्मे छ । बौद्ध व्यापार संघका अध्यक्ष दीपक चौलागाईंले अस्तव्यस्त सडकका कारण व्यापार नै छोड्नु परेको दुःखेसो पोखे । चौलागाईं भन्छन्, ‘यहाँको धुलो र हिलोका कारण ग्राहकको रोजाइ नै अन्यन्त्र ठाउँ हुने गरेको छ ।’

सडक अवलोकनका नाममा मन्त्री, मन्त्रालयका कर्मचारी, सडक विभागका कर्मचारी तथा यसै क्षेत्रबाट निर्वाचित सांसद पटक–पटक चाबहिल हुँदै साँखु पुग्ने गरेका छन् । साँखुसम्म पुग्दा सडकको दूरावस्था नजिकैबाट नियाल्ने गरेका भीआईपीले सडक निर्माणमा भने कठोर कदम चालेको पाइँदैन । यो सडक पूर्व प्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको क्षेत्रमा पर्छ ।

राजधानी भित्रिने पूर्वी नाकाका रुपमा रहेको यस सडक वर्षौंदेखि अस्तव्यस्त हुँदा सवारी आवागमनमा कठिनाइ नाको साथै व्यापार व्यवसायमा पनि नकारात्मक असर परेको छ ।

साँखुसम्म पुग्ने भीआईपीप्रति स्थानीय निकै आक्रोशित हुने गरेका छन् । उनीहरूको एउटै माग छ – सडकको कालोपत्र छिटो होस् साथै सडकका कारण कोही पनि रोगको शिकार र दुर्घटनाका कारण अकालमा मृत्युवरण गर्न नपरोस् । 

सडक निर्माणका लागि ठेकेदार र सम्बन्धित निकायलाई दबाब दिन स्थानीयवासीले मिलन खड्काको अध्यक्षतामा साँखु जोरपाटी शंखरापुर सडक सरोकार समितिसमेत गठन गरेका छन् । समिति नै बनाएर दबाब दिँदै आएको भएपनि हालसम्म सडकको निर्माणमा सुनुवाइ नभएको समितिका अध्यक्ष खड्काले बताए ।

ठेक्का दिइएको मितिदेखि आव २०७४/७५ मा सडक निर्माण सम्पन्न गर्नुपर्ने भएपनि ठेकेदार कम्पनीले सर्वोच्च अदालतको अन्तरिम आदेश, मुआब्जा प्रक्रिया, विद्युतीय र टेलिफोनको खम्बा र तार नपन्छाउनु, खानेपानी तथा ढल चुहावट भई सडक सतहमा पानी बग्ने जस्ता कारण देखाई समयमै निर्माण गर्न नसकिएको भन्दै पन्छिने गरेको छ ।

सर्वोच्च अदालतले सडकमा जग्गा पर्नेलाई मुआब्जा दिनुपर्ने आदेश दिएर मुद्दाको फैसला गरिसकेको भए पनि सडक निर्माणले भने अझै तीव्रता पाउन सकेको छैन । सडकको दयनीय अवस्थाका कारण विद्यालय आउने जाने बालबालिका तथा विद्यार्थीलाई हिँड्न झनै अप्ठ्यारो हुने गरेको छ । ठूलो पानी पर्दा हिलो र नपर्दा धुलोले सडकमा हिँड्नसक्ने अवस्था नै छैन ।

‘साँखुदेखि चाबहिलसम्म पुग्दा मोटरसाइकल, स्कुटर हिलो र चिप्लो बाटोमा नपछारिएको दिनै हुँदैन, कतिपयलाई त घाइते भएर उपचारसमेत गर्न लगेको देखेको छु,’ सोही बाटोमा दिनहुँ यात्रा गर्ने सन्तोष चौलागाईं भन्छन्, ‘सडकको अवलोकन र छड्के धेरै हुने गरेको छ । तर अवलोकन गर्न आउने मन्त्री, पूर्व प्रधानमन्त्री तथा सांसदलाई नै ठेकेदारले टेर्दैनन् ।’

सडकको विषयमा यस क्षेत्रमा धेरै आन्दोलन पनि भयो । सडक बन्द नै गरेर स्थानीयवासीदेखि व्यापारीसम्मले चक्काजाम नै गरे तर पनि सडकको निर्माणले पूर्णता पाउन सकेको छैन । अझै यो सडकखण्डले पूर्णता पाउन कति समय पर्खनुपर्ने हो त्यसको लेखाजोखा छैन ।

salt training

कमेन्ट गर्नुहोस्