११ साउन २०८३, सोमबार

पौडेल पक्षलाई फकाउन निधिको दौडधूप

मंसिर २९, २०७६
पौडेल पक्षलाई फकाउन निधिको दौडधूप

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा देखिएको पछिल्लो विवाद उत्कर्षमा पुगेका बेला उपसभापति विमलेन्द्र निधिले सहमतिका लागि दौडधूप तीव्र पारेका छन् ।

आइतवार अपराह्न निधि शशांक कोइरालानिवास महाराजगञ्ज पुगे ।

केन्द्रीय समिति बैठकमा १४ औं महाधिवेशनको कार्यतालिकालाई छलफलको सूचीमा नराखेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष 'फायर' भएको छ ।

२६ गते बोलाइएको केन्द्रीय समिति बैठकमा संस्थापन पक्षले महाधिवेशनका बारेमा छलफल गर्न नचाहेको भन्दै पौडेलपक्षले बहिष्कार गरेको थियो ।

विवाद साम्य पार्न शनिवार सभापति शेरबहादुर देउवा उपसभापति विमलेन्द्र निधिलाई लिएर पौडेलनिवास बोहोराटारमा पुगेका थिए । पौडेलसँगको छलफलमा देउवाले महाधिवेशन कार्यतालिकाका बारेमा छलफल गर्न आफू तयार रहेको भन्दै आश्वस्त पार्न खोजे ।

तर आफ्नो असहमति रहँदा रहँदै पनि विभागको संख्या बढाएको भन्दै पौडेल सहमतिमा आउन मानेनन् ।

त्यसपछि नयाँ रणनीति तय गर्न पौडेल पक्षका नेताहरू शशांकनिवास महाराजगञ्जमा भेला भए । उक्त भेलामा संस्थापन पक्षले आफूलाई पेलेर जान खोजेको भन्दै नयाँ सहमति नभएसम्म केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय भएको थियो ।

शनिवार बेलुका नै प्रकाशमानसिंह निवास चाक्सीबारीमा अर्को सहमतिको प्रयास भयो । देउवा पक्षबाट निधि र पौडेलपक्षबाट सिंह लगायत अन्य नेताहरूले छलफल गरेपनि सहमति जुटाउन सकेनन् ।

सहमति जुट्न नसकेपछि आइतवार दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय समिति बैठक अन्योलमा परेको छ । अन्योल फुकाएर बैठक सुचारु गर्न निधि शशांक निवास महाराजगञ्ज पुगेका हुन् ।

भेटमा निधिले सहमतिका आधारमा अघि बढ्न आफूहरू तयार रहेको भन्दै शशांकलाई आश्वस्त पार्ने प्रयास गरे । यससानै नेवि संघ, तरुण दल, पार्टीका विभिन्न विभाग र महाधिवेशनको कार्यतालिका लगायतका बिषयमा सहमति गरेर अघि बढ्ने विषयमा कुराकानी भएको छ ।

कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले मङ्सिर २६ गते बिहीवारको बैठकमा प्रस्तुत गरिएका एजेण्डाका विषयमा सहमतिपूर्वक अघि बढ्नुपर्छ भन्नेमा उपसभापति निधि र महामन्त्री कोइराला सहमत भएको दाबी गरे ।

तर संस्थापन पक्षको चाला ठीक नभएको भन्दै पौडेल आइतवारै सपरिवार पाथिभरा घुम्न निस्केका छन् ।

salt training

कमेन्ट गर्नुहोस्