०१ असार २०८३, सोमबार

उपत्यकाका ऐतिहासिक ढुंगेधारा मासिँदै

मंसिर ३०, २०७६
उपत्यकाका ऐतिहासिक ढुंगेधारा मासिँदै
फाइल तस्वीर

स्वयम्भू किमडोमा झाडीले पुरिएको अवस्थामा रहेको ढुंगेधारालाई अभियन्ता र नेपाली सेनाको सहयोगमा सरसफाइ गरी पुरानै अवस्थामा फर्काइएको छ । धाराबाट पानी आउन रोकिएसँगै सो धाराको संरक्षण नहुँदा बेवारिसे बनेको थियो ।

केही समयअघि हात्तीसारमा भवन निर्माणको क्रममा रहेको स्थानमा प्राचीन ढुंगेधारा रहेको अभियन्ताले पत्ता लगाएपछि निर्माण कार्य रोकेर उत्खनन गर्दा ढुंगेधाराको संरचना पत्ता लाग्यो ।

तीनधारा पाठशाला नजिकै रहेको झन्डै ७ सय वर्ष पुरानो धारा पुरिएर दयनीय अवस्थामा भेटियो । धारा भेटिँदा टुटफुट भएको अवस्थामा थियो । हाल यो धाराको वडा नम्बर १ र पुरातत्व विभागको समन्वयमा पुनर्निर्माण हुँदै छ ।

यो त उदाहरण मात्रै हो । उपत्यकाका धेरै स्थानमा पानीको स्रोतका रूपमा रहेको ढुंगेधारा नासिँदै जान थालेका छन् । केही समय अघिसम्म उपत्यकामा मुख्य पानीको स्रोतका रूपमा रहेका ढुंगेधारा धमाधम सुक्न थालेसँगै बेवारिसे बन्दै गएका छन् । स्थानीयले प्रयोग गर्दै आएका ढुंगेधारा एकाएक सुक्न थालेपछि उनीहरूले पानीको संकटसमेत बेहोर्नुपरेको छ ।

अव्यवस्थित बसोवास तथा सहरीकरणका कारण भूमिगत पानीको स्रोत गुम्दै गएकाले ढुंगेधाराहरू लोप हुन थालेको संरक्षण अभियन्ताहरू बताउँछन् ।

उपत्यकाका अधिकांश धारा बेवारिसे भएका छन् । ढुंगेधारा संरक्षणमा लामो समयदेखि लागिपरेका अभियन्ता यादवलाल कायस्थ उपत्यकामा बढ्दो अव्यवस्थित र सहरीकरणका कारण भूमिगत पानीको स्रोत गुम्दै गएको बताउँछन् । उनले धारामा पानी आउन छाडेसँगै ती धाराको संरक्षण हुन छाडेको बताए । कपुरधाराका ढुंगेधाराहरू अहिले प्रायः सबै सुकिसकेका छन् । ‘धारामा सफा पानी आउँथ्यो, ढुंगेधाराको पानीको स्वाद नै खुबै मीठो हुन्थ्यो तर अहिले एकादेशको कथा भएको छ,’ कपुरधाराका स्थानीय राजेश महर्जनले भने । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ । 

salt training

कमेन्ट गर्नुहोस्