
रत्नलक्ष्मी माध्यमिक विद्यालय गलकोट नगरपालिका ११ रिघाको हीरक महोत्सव सम्पन्न भएको छ । हीरक महोत्सवको अवसरमा विद्यालयले झण्डै २ करोड ४० लाख आर्थिक संकलन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराबहादुर पुनले जानकारी दिए ।
प्रविधियुक्त गुणस्तरीय शिक्षा, सुदृढ भौतिक पूर्वाधार हाम्रो ईच्छा भन्ने मूल नाराका साथ विद्यालयले मंसिर २५ गतेदेखि स्वर्ण महोत्सव आयोजना गरेको थियो । संकलित रकमबाट विद्यालयले समयसापेक्ष गुणस्तरीय शिक्षा र प्रविधि मैत्री शिक्षा प्रदान गर्ने मुख्य उद्येश्य राखेको प्रधानध्यापक ताराबहादुर पुनले बताए ।
हीरक महोत्सवको समापन समारोहमा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले नगरको तर्फबाट विद्यालयलाई प्रविधी मैत्री शिक्षा सुविधा सम्पन्न भवन र खेलमैदान निर्माणको लागी नगद रु १० लाख सहयोग गर्ने घोषणा गरेका छन ।
नगर प्रमुख गैरेले विद्यालय शिक्षालाई समय सापेक्ष र जीवन उपयोगी बनाउनुपर्ने बताउदै गलकोट क्षेत्रको विद्यालय शिक्षालाई प्रभावकारी बनाउन नगरपालिकाले बिशेष योजना लागु गर्ने बताए । स्थानिय सरकार प्रदेश सरकारको अस्तित्व नरहने गरि केन्द्रीय तहबाट बजेटको विनियोजन हुनु समृद्धिको सपनामा सिमित रहने उल्लेख गरे ।
उनले स्थानिय तह सँगको सहकार्यमा योजनाको प्राथमिकीकरण गरि बजेट बिनियोजन गर्न प्रदेश र केन्द्र सरकारलाई आग्रह गरे । हीरक महोत्सवमा आयोजित खुल्ला फुटवल प्रतियोगितामा बागलुङ नगरपालिका ११ विजयी भएको छ ।
सो अवसरमा विद्यालय स्तरिय भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, मयुर नृत्य, सोरठी नृत्य, बाल गीत तथा नृत्य, विद्यार्थीद्धारा पिटी प्रर्दशनी गरिएको थियो भने विद्यालयलाई सहयोग गर्ने सहयोगदाता, जग्गादाता, चन्दादाता, पुर्व प्रधानाध्यापक, पुर्व शिक्षक कलाकार, पत्रकारलाई सम्मान गरिएको थियो ।
महोत्सवमा पूर्वसंविधान सभासदस्य नरबहादुर पुन, गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारी, गलकोट नगरपलिका ६ का वडा अध्यक्ष नरबहादुर खत्री, गलकोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्ण प्रसाद गौतम, साविक रिघा गाँउ विकास समितिका पूर्वअध्यक्ष गङ्गा भुजेल, सामुदायिक सेवा केन्द्र गलकोटका अध्यक्ष मञ्जु शर्मा चालिसे, पुर्व प्रधानध्यापक हरि भण्डारीले मन्तव्य राखेका थिए ।
हीरक महोत्सव अवधिभर राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरु देवी घर्ती, कुलेन्द्र विश्वकर्मा, जुना श्रीस, प्रकाश सपुत, ईश्वर सिंह, सञ्जय पुन लगायतले सांगितिक प्रस्तुति प्रस्तुत गरेका थिए । थम्मन थापा/बाग्लुङ