१५ असार २०८३, सोमबार
विकासमा विकृति

पप्पु कन्सट्रक्सनलाई कालोसूचीमा राख्न पत्राचार, लुम्बिनीबाट ‘बाइबाई’

मंसिर ३०, २०७६
पप्पु कन्सट्रक्सनलाई कालोसूचीमा राख्न पत्राचार, लुम्बिनीबाट ‘बाइबाई’

बुद्ध जन्मस्थल लुम्बिनी जाने सडकमा २ पुल अलपत्र छाडेपछि रूपन्देहीमा पप्पु कन्सट्रक्सनलाई ‘डन्डा’ चलाइएको छ । हुलाकी राजमार्ग अन्तर्गत पर्ने रूपन्देहीको तिनाउ र डण्डा नदीका पुल अलपत्र छाडेपछि पप्पु कन्सट्रक्सनलाई ‘बाइबाई’ गरिएको छ ।

पप्पुले ठेक्का लिएका २ वटै पुलको हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुले ठेक्का सम्झौता रद्द गरी कालोसूचीमा राख्न आइतवार सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौंलाई पत्र पठाइएको हो ।

कन्सट्रक्सनको बदमासीले विश्वरभरबाट लुम्बिनी भ्रमणमा आउने पर्यटकले लामो समयदेखि आवतजावतमा ठूलो सास्ती खेप्दै आएका छन् । 

कार्यालयका योजना प्रमुख ईश्वरबहादुर रिजालले काम सक्न पटक–पटक ताकेता गर्दा पनि काम नगरेपछि पप्पु कन्सट्रक्सनको ठेक्का रद्द गरिएको लोकान्तरलाई जानकारी दिए । ‘३ वर्षदेखि २ पुल अलपत्र अवस्थामा छाडेपछि पप्पुको ठेक्का तोडिएको छ,’ उनले भने, ‘अब हामी नयाँ शिराबाट नयाँ ठेक्काका लागि काम अगाडि बढाउँदैछौं । कम्पनीलाई कालोसूचीमा राख्न समेत सिफारिस गरिएको छ ।’

ती २ पुलको ४५ प्रतिशत मात्र काम भएको छ । तिनाउ नदीको पुल निर्माणका लागि ६ करोड २ लाख ५६ हजार २ सय १२ रुपैयाँमा ठेक्का सम्झौता थियो । त्यसमध्ये २ करोड ९७ लाख ४४ हजार ७ सय ७६ रुपैयाँ भुक्तानी लिइसकेको छ । डण्डा नदीमाथिको पुल निर्माणको ठेक्का ५ करोड ५६ लाख ८० हजार १ सय १५ रुपैयाँमा भएको थियो । ठेक्का रकममध्ये कम्पनीले १ करोड ८५ लाख ९६ हजार ३ सय ९७ रुपैयाँ लिइसकेको छ ।

कार्यालयका इन्जिनीयर वीरेन्द्रप्रकाश तेलीले कम्पनीबाट बाँकी बक्यौता रकम असूल गर्न लगत कस्नेको तयारी भइरहेको लोकान्तरलाई बताए । पप्पु कन्सट्रक्सन र बाग्मती निर्माण कम्पनीले यी दुवै पुल २ वर्षभित्र सक्ने भन्दै २०७१ असार २५ गते ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०७३ असार २४ गते काम सक्नुपर्ने भएपनि काम नसकिएपछि २ वर्ष म्याद थप गरी २०७५ असार २३ गतेसम्म सारिएको थियो तर हालसम्म पनि पुल निर्माण नभएपछि कार्यालयले ठेक्का सम्झौता तोडेर कालोसूचीमा राख्न सिफारिस पठाइएको तेलीले जानकारी दिए । 

दुवै पुल बनाउन नदीमाथि २–२ वटा पिल्लर उठाएर छाडिएको छ । दायाँबायाँ पिल्लर नबनाइ ‘छेउ न टुप्पो’ बनाएर अलपत्र छाडिएको छ । तिनाउ पुलको ४ वटा स्पान पिल्लरमाथि ढलान मात्र भएको छ । २ वटा पिल्लर बनाउन बाँकी छ । अबुटमेन्ट र सुपर अबुटमेन्ट पनि बनाउन बाँकी छाडेको छ । डण्डा खोलाको २ वटा अबुटमेन्ट बनाउन बाँकी छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले सडक र पुल निर्माणको अवस्थाको अवलोकन गर्दै तदारुकताका साथ काम नगर्ने ठेकेदारलाई कारवाही गर्ने बताएका थिए । लुम्बिनी जाने सडक ४ लेनमा विस्तार हुँदैछ । सडकमा २ लेनका पुल हुँदा आवतजावतमा समस्या भएपछि नयाँ पुल निर्माण ठेक्का लगाइएको थियो ।

पुल अलपत्र हुँदा भैरहवाबाट लुम्बिनी जाने सडकमा घण्टौं जाम हुँदा आएको छ । सडकलाई ४ लेनमा विस्तारअघि नै पुल निर्माणको सम्झौता गरिएको थियो । त्यसक्षेत्रका अन्य पुल भने सम्पन्न भइसकेका छन् । केही अंश निर्माण भएका २ पुल ३ वर्षदेखि पम्पु कम्पनीले अलपत्र अवस्थामा राखेको छ ।

भ्रमण वर्षमा लुम्बिनी पुग्न कठिन भएपछि पुलको विषयमा संघीय तथा प्रदेश सरकारले चासो दिएको छ । ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुल निर्माण वा त्यसको विकल्पको प्रक्रिया थाल्न हुलाकी सडक कार्यालयलाई निर्देशन दिएका थिए । 

प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष मनाइरहेको छ । धुलो सडक र साँघुरा पुलका कारण लुम्बिनी आउने पर्यटकलाई असहज हुने भएपछि यात्रा सहज बनाउन बेलिब्रीज पनि बनाउने तयारी गरिएको छ । पप्पुले देशभर निर्माणका लागि ठेक्का लिएका पुल अलपत्र छाडेको छ ।

salt training

कमेन्ट गर्नुहोस्